२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, १४ माघ । जिल्लाको दमक नगरपालिका–९ मा स्थानीय तीन जना सिटौला दाजुभाइले सञ्चालनमा ल्याएको फिदर कम्पुटर म्यानुफ्याक्चर्सले अहिले दैनिक ठूलो परिणाममा फाइवरका सिरक बजारमा पठाउँदै आएको छ । कोरियन प्रविधिको प्रयोग गरी एक वर्ष अघिदेखि सञ्चालन गरिएको उक्त उद्योगले महिना दिनयता दैनिक ८ सय जति सिरक, डसना बनाउँदै देशका विभिन्न शहरमा पठाउँदै आएको कम्पनीले जनाएको छ ।

दमक– ९ कै लक्ष्मीप्रसाद सिटौला, नारायण सिटौला र केशव सिटौलाले करीब रु १२ करोडको लगानीमा सो उद्योग खोलेको हुन् । उद्योग १५ कठ्ठा जग्गामा रहेको छ भने फाइवरको सिरक, डसना र कम्बल बनाउने यस्तो उद्योग प्रदेश एककै ठूलो भएकोे सञ्चालकको दाबी छ । सिटौला दाजुभाइ एकताका अलगअलग समयमा वैदेशिक रोजगारीका लागि अलग–अलग ठाउँमा गएका थिए । रोजगारीका क्रममा विदेशमा देखेगरेको अनुभव समेटेर आफनै ठाउँमा उनीहरुले साझेदारीमा व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।

सञ्चालकमध्येका उद्योगी लक्ष्मीप्रसाद सिटौलाले विदेशको अनुभवलाई स्वदेशमा नै लगाउँदै यसको व्यावसायीकरणमा आकर्षित भएको बताउँछन् । आफनै ठाउँमा नयाँ काम थाल्ने अठोट लिएर एक वर्ष अघिदेखि यस उद्योग सञ्चालनमा ल्याइएको र अहिले छ दर्जन बढी स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएको उनले बताए ।

कोरियन प्रविधिमार्फत निर्माण गरिने सिरक, डसना, कम्बल, सिरानी जस्ता अनिवार्य आवश्यकताका वस्तुको बजारमा अभाव र बेरोजगार जनशक्तिलाई हेरेर स्वदेशमै केही गरौं भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको सिटौलाले बताउनुभयो । उद्योगमा रोजगारीको अवसर पाउनेमा महिला धेरै छन् । उद्योगमा अहिले रु १२ करोड जति लगानी रहेको र करीब रु पाँच करोड मूल्य बराबरको सामान स्टक रहेको कम्पनीले जनाएको छ ।

जाडो बढेसँगै जाडोका लागि चाहिने लत्ताकपडा र सिरक डसनाको बिक्री बढ्दै गएको छ । गएको पुस अन्तिम सातादेखि जाडो बढेपछि झापाको दमकसहित जिल्लाभित्र साना तथा ठूला बजारमा जाडोका लागि चाहिने यस्ता उपभोग्य बस्तुको बिक्री बढेको हो ।

“बजारमा जाडोका लागि चाहिने सिरक, डस्नाको माग उच्च छ”, उद्योगले तयार गर्ने फाइवर सिरक, डसना अन्य सिरक, डसना भन्दा गुणस्तरीय हुने भएकाले पनि उपभोक्ताको रोजाइँ पनि बन्दै गएको सिटाैलाको भनाइ छ ।

उद्योगले दैनिक ८०० वटा सिरक, डसना उत्पादन गरिआएको र यहाँको उत्पादन स्थानीय बजारसँगै पश्चिमका कैलाली, दाङ, पोखरा, सुर्खेतलगायतका ठाउँका बजारसम्म पैठारी गरिआएको कम्पनीका सुपरभाइजर टङ्क पालुङवाले बताउनुभयो ।गर्मीको समयमा तयारी हुने र जाडो शुरु हुनसाथ उत्पादनको मात्रा बढाउने गरेको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!