
लमजुङ, १८ माघ । लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेँसीशहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हानिए । तर, विदेशमा सोचेजस्तो काम, सोचेजस्तो कमाइ नभएपछि साढे दुई वर्षपछि उनी नेपाल फर्किए ।
उनी नेपाल फर्किएका बेला गाउँगाउँमा अलैँची खेतीको लहर चलेको थियो । त्यही लहरमा लहरिँदै पसे छिनखोलाको सेपिलो पाखातिर । उनले शुरु गरे अलैँची खेती । उतिबेला काम खोज्दै विदेश भौँतारिएका उनी अहिलेका उम्दा अलैँची कृषक बनेका छन् । शुरुमा एक रोपनी जग्गामा अलैँची खेती विस्तार गरे । खेतीमा राम्रो हुन थालेपछि अहिले ४० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् ।
अलैँची दाना बेचेर अघिल्लो वर्ष रु पाँच लाखभन्दा बढी कमाएको उनले जानकारी दिए । यस वर्ष पनि सोही हाराहारीमा अलैँची दाना बिक्री गर्दै आम्दानी गरे । यस वर्ष उनले ४०० किलो अलैँची उत्पादन गरेका थिए । अलैँची खरिद बिक्री गर्ने बिरुवा बिक्रीबाट गत वर्ष डेढ लाख बिरुवा उत्पादन गर्दै बिक्री गरेको र यस वर्ष २०० बिरुवा उत्पादन गर्ने लक्ष्य अलैँची कृषक तामाङको छ ।
उनले आफ्नै बारीमा अलैँची नर्सरी स्थापना गरेर उत्पादनका साथै अलैँची बिरुवा बिक्री गर्दै आएका छन् । अलैँचीका दाना र बिरुवा बिक्री गरेर वार्षिक रु १२-१३ लाख सजिलै आम्दानी हुने गरेको उनको भनाइ छ । उनी नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष तथा लमजुङ शाखाको अध्यक्षसमेत हुन् ।