
काठमाडौँ, १८ माघ । छड तथा डन्डीको मूल्यवृद्धि हुनुको कारण बुझाउन अधिकांश उद्योगले आनाकानी गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभर सञ्चालित २१ वटा उद्योगलाई पत्राचार गरेर मूल्य वृद्धिलगायतको विषयमा विवरण बुझाउन निर्देशन दिए पनि हालसम्म १० वटा उद्योगले मात्रै विवरण बुझाएका हुन् । अझै ११ वटा उद्योगीले विवरण बुझाउन बाँकी छ ।
विभागले पुसको अन्तिम सातातिर फलामे डन्डी उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । डन्डीको मूल्य बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डन्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र मूल्य बढ्नुको कारण खुल्ने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो ।
जसमध्ये काठमाडौँ स्टिल, हामा स्टिल, हुलाक स्टिल, पञ्चकन्या स्टिल, प्रिमियर स्टिल, हुलास स्टिललगायत १० वटाले विवरण बुझाएका छन् । बाँकी ११ उद्योगीलाई पनि विवरण बुझाउन अनुरोध गरिएको विभागका निर्देशक वा अनुगमन संयोजक सागर मिश्रले बताए । उनका अनुसार फलामे छड र डन्डीको मूल्य नियन्त्रण नभएको र आधाभन्दा बढीले विवरण दिन आनाकानी गरेकाले आइतबार वाणिज्य सचिवले सबै उद्योगीलाई मन्त्रालय उपस्थित हुन निर्देशन गरेकाे छ ।
वाणिज्य सचिवले विवरण बुझाउने र बुझाउन अटेर गर्ने सबै उद्योगलाई पत्राचार गर्न दिएको निर्देशनअनुसार पत्राचार गरिसकेको निर्देशक मिश्रको भनाइ छ । उनले भने, “विवरण बुझाउन सुरुमा दिएको मिति ४ गते नै सकिएको हो । योबीचमा आउने आश गरिएको थियो तर आएन । हामी राम्रो गर्ने उद्योगीलाई सहयोग गर्छौं, असहयोग गर्नेलाई कानुनी प्रक्रियामा जान बाध्य हुन्छौँ, यो वातावरण नबनोस् भन्ने हो । ”
उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले डन्डीको मूल्य बढेको दाबी गर्दै आएका छन् । उद्योगहरूले डन्डी उत्पादनका लागि सबै कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यस्तो कच्चा पदार्थ कोभिड–१९ पछि अन्तर्राष्ट्रिय बजारमै महँगो भएको छ ।
विभागका अनुसार डन्डीको भाउ अन्तर्राष्ट्रियस्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएकाले कति बढ्नुपथ्र्यो र कति बढ्यो भन्ने मात्रै अहिलेको खोजीको विषय हो । पछिल्ला दुई/तीन महिनामा डन्डीको मूूल्य प्रतिकेजीमा ३० देखि ३५ रुपियाँसम्म बढेको पाइएकाले यसको जवाफ रिपोर्टमा आउने विश्वास विभागले गरेको थियो ।
निर्माण व्यवसायीले भने डन्डीमा महिनैपिच्छे मूल्य बढेको भन्दै विरोध गर्दै आएका छन् । कोरोना महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको उनीहरूको दाबी छ ।