
एजेन्सी, १८ माघ । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेड्रिको चिसा र आरोन राम्सेले समान एक-एक गोल गरे । खेलको २० औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा रामसेले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
यस खेलबाट मैदान फर्किएका क्रिस्टियानाे रोनाल्डो भने गोलविहीन भए । उनका केही प्रहार असफल भएका थिए । उनी अघिल्लो खेलमा अनुपस्थित थिए ।
जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १९ खेलमा ३९ अंक जोडेको छ । साम्पडोरिया २६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।