एजेन्सी, २१ माघ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ९-० गोलन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा ९ खेलाडीमा समेटिएको साउथह्याम्पटनविरुद्ध युनाइटेडले फराकिलो जित निकालेको हो । युनाइटेडलाई जिताउन एन्थोनी मार्सियलले दुई गोल गर्दा आरोन वान–बिसाका, मार्कुस राष्फोर्ड, इडिन्सन काभानी, स्कट एमसीटोमिने, ब्रुनो फर्नान्डेस र डेनियल जेम्सेले एक-एक गोल गरे । युनाइटेडले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । साउथह्याम्पटनका जेन बेडनरेकले आफ्नै पोस्टमा गोल गरेका थिए ।
युनाइटेडले पहिलाे हाफमा चार गोल गरेकाे थियो भने दोस्रो हाफमा पाँच गोल थप्यो ।
प्रिमियर लिगको इतिहासमा युनाईटेडले दोस्रो पटक ९-० को जित निकालेको हो । यस अघि सन् १९९५ मा इप्सविचविरुद्ध युनाईटेडले ९-० को जित निकालेको थियो । यस्तै साउथह्याम्पटनले दोस्रो पटक ९-० को हार व्यहोरेको हो । गत सिजन साउथह्याम्पटन लेष्टरसँग ९-० ले पराजित भएको थियो ।
जितसंगै युनाईटेडले लिगमा शीर्ष स्थानको टिम म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानको युनाईटेडले २२ खेलमा ४४ अंक जोडेको छ । साउथह्याम्पटन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।






