२०८३ भाद्र १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

चितवन, २७ माघ । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।

रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रु ४१ करोड ८८ लाख चार हजार ९३६ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार रु नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उहाँको भनाइ छ । उहाँका अनुसार माघ मसान्तसम्म रु १० करोडभन्दा बढी उधारो हुनेछ ।

हालसम्म रङ्गशाला निर्माणका लागि रु ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले रु आठ करोड, वाग्मती प्रदेश सरकारले रु तीन करोड सहयोग गरेका छन् । महायज्ञमा बोलकबोल रु ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा रु नौ करोड ११ लाख ६५ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिए ।

महायज्ञमा रु एक करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए । वाग्मती प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख, वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले रु एक करोड, गैँडाकोट नगरपालिकाले रु एक करोड बराबरको काठ, नेपाल पोल्ट्री महासङ्घले रु एक करोड र ग्लोबल आइएमई बैंकले रु एक करोड बोलकबोल गरेका थिए । ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले रु ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिए ।

महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउँछन् । रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उनले जानकारी दिए ।

वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७/७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिए । जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ । महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन् ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बजेट अभाव हुँदा सोचेजसरी कामलाई अघि बढाउन नसकेको बताए ।  “रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ । उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन सकेको छैन,” उनले भने ।

निर्माण सामग्री खरिद गर्ने एउटै फार्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!