२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं। कृषि विकास बैंकले बिनो धितो १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने गरि गाउँपालिकासँग सम्झौता गरेको छ। गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा दिने भएको हो।

बैंकको ५ नम्बर प्रदेश कार्यालयका प्रमुख चन्द्रसिंह थापा र अर्घाखाँचीको मालारानी गाउँपालिकाका अध्यक्ष वालकृष्ण आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कृषि विकास बैंकले गाउँपालिकाका स्थानीय बासिन्दाहरुलाई बिभिन्न ५ प्रकारका सहुलियतपूर्ण कर्जा बिना धितो प्रदान गर्ने छ।

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँ सम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जा १० लाख रुपैयाँसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म उपलब्ध गराउने छ।

त्यसका लागि गाउँपालिकाको सिफारिस र परियोजनाको सम्भाव्यताको आधारमा बैंकले कर्जा लगानी गर्नेछ। उपरोक्त बमोजिमका कर्जाहरुमा महिला उद्यमशीलताको हकमा हाल ३ प्रतिशत ब्याजदर तोकिएको छ भने अन्य कर्जाको हकमा ४ प्रतिशत ब्याजदर ग्राहकले तिर्नुपर्ने हुन्छ।

कोभिड–१९ को महामारीको कारणबाट आक्रान्त बनेको अर्थतन्त्रलाई उकास्नको लागि स्थानीय निकायको भूमिका देखिने र देश तथा विदेशबाट फर्किएका उर्जाशील बेरोजगार युवाहरुमा उद्यमशीलताको विकास गरि रोजगारीका अवसरहरु सृजना गर्न बैंकले गाउँपालिकामा  प्रस्ताव पेश गरेको थियो।

गाउँपालिकाले बैंकको प्रस्ताव स्वीकार गर्दै स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ समेत पारित गरिसकेको छ।

मालारानी गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्न, वित्तीय पहुंच तथा साक्षरता विस्तार गर्ने सम्झौताको मुख्य उद्देश्य रहेको छ।

सम्झौता हस्ताक्षरको उक्त कार्यक्रमका प्रमुख अतिथि कृषि विकास बैंक ५ न. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक भएको र बैंकको प्रमुख उद्देश्य ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको माध्यमबाट धेरैभन्दा धेरै रोजगारी सृजना गरी आर्थिक रुपमा सबल बनाउने रहेकाले गाउँपालिकासँग हातेमालो गर्न बैंक तयार रहेको बताए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष वालकृष्ण आचार्यले सम्झौता अनुसार सहुलियतपूर्ण कर्जाको माध्यमबाट उद्यमशीलताको विकास गरि रोजगारीका अवसरहरुको सृजना गर्दै समग्र गाँउपालिकाको आर्थिक स्तर उकास्न सकिने धारणा राखे।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!