
लण्डन, २६ असाेज । नेपालमा नसर्ने रोगहरुको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगहरुको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निक्लिएको हो ।
कार्यक्रममा बोल्दै डा.अभिनभ वैद्यले मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अबस्था लिँदै गएको उल्लेख गरे ।
यी रोगहरुबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउँदै उनले यी रोगहरुबाट बच्न सोच्नुपर्ने बेला आएको उल्लेख गरे । ४० वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवाहरु नसर्ने रोगबाट नप्रभावित बनेको डा. अभिनभ वैधले जानकारी दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसहरुले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताए । क्यान्सरबाट ज्यान गुमाउनेहरुमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिसहरु रहेको उहाँले उल्लेख गरे ।
नेपालमा पनि क्यान्सरका रोगीहरु बढ्दै गएको बताउँदै उनले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
धुलो, धूँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको उनले बताए ।
चेतनाको कमी, प्रविधिको अभाव, मानव स्रोत साधनको अभाव, अनुसन्धानको अभाव लगायत कारण विकासशील मुलुकहरुमा यसको समस्या बढ्दै गएको उनको भनाइ थियो ।
भरत नेपाल (सिनियर मेन्टल हेल्थ एजुकेशन अफिसर अस्ट्रेलिया) ले मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडीदेखि नै उठेको बताए । तर कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उनले बताए ।
कार्यक्रममा बोल्दै उनले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउँदा, लामो समयसम्मको बेरोजरीका कारण कमजोर आर्थिक अबस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताए ।
मानसिक समस्याकै कारण मानिसहरु आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको बताउँदैन पुरुषको तुलनामा ठूलो संख्यामा महिलाहरुले आत्महत्या गर्ने उनले उल्लेख गरे । ४५ प्रतिशतसम्म महिलाहरुले आत्महत्या गर्ने प्रवृति देखिएको उनकाे भनाइ छ । मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवन शैलीमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।
डा. कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताए । विश्वमा विद्यालय जाने अवस्थाका ३ देखि १९ प्रतिशत बालबालिकाहरुमा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकाहरुमा यस्तो समस्या बढ्दै गएको जानकारी दिए । सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाहरुका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उनको भनाइ थियो ।
‘डिस्लेक्सिया भएका बच्चाहरु अरु सामान्य बच्चाहरुभन्दा फरक हुन्छन् । उनीहरु सुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिला अध्ययन गर्ने हुन्छन् । दायाँ र बाँट्याउन नसक्ने हुँदा उनीहरु स्मल बी र डिलाई एउटै देख्छन् । जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ,’ उनले भने ।