
काठमाडौं, ११ माघ: संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५:०० बजे निधन भएको डा. किरण नकर्मीले जानकारी दिनुभयो । डा. नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८० प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’
नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ ।