२०८२ आश्विन २१       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विर्तामोड,२१ चैत्र : एनआईसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ।

झापाको दमक नगरपालिका–५ का दुर्गाप्रसाद कँडेलको घरमा तीन दिनदेखि बैंकले सुरक्षा गार्ड पठाएको हो।हाल कडेँलको घरमा दैनिक ९ बजेदेखि साँझ ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ।

आफूले व्यावसायमा समस्या आएकोले तीन महिना अगाडिदेखि बैंकमा साँवा ब्याज हाल्न नपाएको घरधनी कँडेलले जानकारी दिनुभयो।बैंकले तोकेको समयमा किस्ता दिन नसक्दा बैंकले घरमै सुरक्षा गार्ड पठाएको उहाँको भनाइ छ।

बैंकमा आफ्नो एक करोड रुपैयाँ ऋण लिएकोमा अब साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाँकी रहेको कँडेलले बताउनुभयो।घरमा पाहुना आउँदा सुरक्षा गार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्जती भएको श्रीमती चन्द्रकला कँडेलले बताउनुभयो।

यसबारेमा नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले एनआईसी मात्रै नभएर कुनै पनि बैंकले यसरी ऋणीको घरमा सुरक्षा गार्ड राख्नु केन्द्रीय बैंकको नीति विपरित भएको बताउनुभयो।बैंकले आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य थुप्रै तैरतरिका हुँदाहुँदै यसो गर्नु नहुने उहाँको भनाइ छ।

यता एनआईसी एसिया बैंकका दमक शाखा प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणीको घरमा बैंकले सुरक्षा गार्ड पठाएको बताउँदै यसको सम्पूर्ण जिम्मेवार बैंकको केन्द्रीय समितिले हेर्ने बताउनुभयो।यो विषयमा आफूले केही बोल्न नमिल्ने उहाँको प्रतिक्रिया छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!