
स्याङ्जा,१३ फागुन: स्याङ्जाका आर्थिक रूपले कमजोर बिरामीहरूको उपचारका लागि काठमाण्डौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारको व्यवस्था गरिएको छ। संघीय सांसद धनराज गुरुङको विशेष पहलमा सांसद तथा केएमसीका सञ्चालक डा. सुनिल शर्माले योजना सार्वजनिक गरेका हुन्।
योजना अनुसार, यही चैत्र ४ गते काठमाण्डौं मेडिकल कलेज, सिनामंगलमा स्याङ्जाका विपन्न बिरामीहरूलाई अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटी स्क्यान, एमआरआई लगायतका सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिनेछ। बिरामीहरूले औषधि, औषधिजन्य सामग्री तथा खानाको व्यवस्था भने आफैं गर्नुपर्नेछ।
रिफर प्रक्रिया आवश्यक
स्याङ्जाका बिरामीहरूले स्थानीय अस्पतालमा जाँच गराई शल्यक्रिया वा थप उपचार आवश्यक परेमा त्यहाँबाट रिफर लिई आउनुपर्नेछ। स्वास्थ्य बीमामा आबद्ध बिरामीहरूले बीमाको रिफर कागजात अनिवार्य रूपमा ल्याउनुपर्नेछ। उपचार सहजिकरणका लागि सांसद धनराज गुरुङको सचिवालयले विशेष पहल गर्ने जनाएको छ।
थप जानकारीका लागि सम्पर्क
📞 सम्पर्क व्यक्तिः भुपराज बस्याल
📞 सम्पर्क नम्बरः ९८५१११०८५०
सामाजिक सेवामा सांसद गुरुङ र डा. शर्माको योगदान
स्वास्थ्य उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने अभियानमा सक्रिय सांसद धनराज गुरुङ यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा अग्रसर रहँदै आएका छन्। यसपटक पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकहरूलाई सहयोग पुर्याउन उनले विशेष पहल गरेका हुन्।
सांसद डा. सुनिल शर्मा समाजसेवाका लागि परिचित व्यक्ति हुन्। पूर्वी नेपालदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका उनले हजारौं बिरामीहरूलाई जीवनदान दिएका छन्। उनले सांसदको तलब–सुविधा नलिने घोषणा गर्दै, जनताको प्रतिनिधिका रूपमा संसदमा आवाज उठाइरहेका छन्।
स्वास्थ्य उपचारबाट वञ्चित नहोस् विपन्न वर्ग
स्याङ्जाका विपन्न बिरामीहरूलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन यो कार्यक्रम सञ्चालन गरिएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो पहललाई स्थानीय नागरिकहरूले सकारात्मक रूपमा लिएका छन्। सांसद गुरुङ र डा. शर्माको यो अभियानले आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।