
विराटनगर, २८ फागुन : कोशी प्रदेशमा एसईई परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने परीक्षामा ८०,९३४ विद्यार्थी सहभागी हुनेछन्।
शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेल का अनुसार परीक्षा मर्यादित र व्यवस्थित बनाउन ३७१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षाको सफल सञ्चालनका लागि ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४,०४५ निरीक्षक, ८०९ परीक्षा सहायक, १,६१३ सहयोगी तथा ५,५६५ सुरक्षाकर्मी सहित १२,९४९ जनशक्ति परिचालन गरिनेछ।
यस वर्ष सबैभन्दा बढी विद्यार्थी मोरङ (१८,१०७), झापा (१७,०२८) र सुनसरी (१३,५८३) बाट सहभागी हुनेछन् भने सबैभन्दा कम तेह्रथुम (१,१९०) बाट परीक्षा दिनेछन्। विशेष आवश्यकतासहित परीक्षा दिने अपाङ्ग परीक्षार्थीहरूका लागि अतिरिक्त एक घण्टा ३० मिनेट थप समयको व्यवस्था गरिएको छ।
सामाजिक विकास मन्त्री पाँचकर्ण राई ले परीक्षालाई मर्यादित, शान्त र निष्पक्ष बनाउन विशेष योजना लागू गरिएको बताउँदै सबै सरोकारवालालाई सहयोगका लागि आग्रह गरेका छन्।