
काठमाडौं,४ चैत: इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेज, सिनामंगलबीच स्वास्थ्य सेवा प्रदान सम्बन्धी विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार समाजका सदस्यहरूले ओपीडी उपचारमा २५ प्रतिशत र भर्ना भई उपचार गराउँदा ५० प्रतिशत सम्मको विशेष छुट पाउने भएका छन्।
सम्झौतामा इटहरा सरोकार समाजका अध्यक्ष डा. विष्णुप्रसाद दाहाल र काठमाडौं मेडिकल कलेजकी कार्यकारी अध्यक्ष सोईना शर्माले हस्ताक्षर गरेका हुन्। समाजका सदस्यहरू, विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने परिवारहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य सम्झौतामा उल्लेख गरिएको छ।
सम्झौता कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मा, इटहरा सरोकार समाजका अध्यक्ष डा. विष्णुप्रसाद दाहाल, समाजका सदस्यहरू तथा नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा बराल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विशेष छुट र सुविधाहरू
सम्झाैता अनुसार साधारण ओपीडी, भर्ना उपचारका साथै विशेष सेवाहरू (IVF, Liver Transplant आदि) मा पनि छुट उपलब्ध हुनेछ। यद्यपि, स्वास्थ्य बीमा, औषधि, इम्प्लान्ट, सर्जिकल सामग्री, कन्सुमेबल आइटम्स तथा सरकारद्वारा निःशुल्क प्रदान गरिने सेवाहरूमा भने छुट लागू नहुने स्पष्ट गरिएको छ।
सम्झौताको अवधि एक वर्ष कायम रहनेछ भने दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ। आपतकालीन सेवाका लागि अस्पताल र समाजबीच सम्पर्कमा रहने फोन नम्बरहरू समेत प्रदान गरिएको छ।
सांसद डा. सुनिल शर्माको नेतृत्वमा स्वास्थ्य सेवा अभियान
काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सांसद डा. सुनिल शर्माको नेतृत्वमा सञ्चालित छ। डा. शर्माको अगुवाइमा कलेजले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ।
नेपालका विभिन्न भागहरूमा निःशुल्क स्वास्थ्य शिविरमार्फत लाखौं विपन्न नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका सांसद शर्माले गम्भीर बिरामीहरूको लागि काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत निःशुल्क उपचारको व्यवस्था समेत मिलाउँदै आउनुभएको छ।
उहाँले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि, जुनसुकै पार्टीका भए पनि, निःशुल्क क्याबिनको व्यवस्था मिलाउनु भएको छ भने काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको पहल गरिरहनुभएको छ।
जनताको सेवामा समर्पित सांसद
सांसद डा. सुनिल शर्मा प्रतिनिधि सभाका एक मात्र तलब-भत्ता नलिने सांसद हुन्। उहाँले आफ्नो जीवन समाजसेवा र मानवताको लागि समर्पित गर्दै आएको र स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिने कार्यमा सक्रिय रहनुभएको छ।
यस सम्झौताले विशेष गरी इटहरा सरोकार समाजका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न मद्दत गर्ने विश्वास लिइएको छ। सांसद डा. शर्मा नेतृत्वको यस्तो समाजसेवी अभियानले लाखौं नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण योगदान दिँदै आएको छ।