
विराटनगर ः आज बैशाख २९ गते सोमबार देश तथा विदेशमा शान्तिका अग्रदूत भगवान् आगौतम बुद्धको २५६९औँ जन्मजयन्ती मनाइँदै छ । घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाइने गरिएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याएको योगदानका सम्झना गर्दै आराधना, ध्यान गरी बुद्धजयन्ती मनाइने गरिन्छ ।
भगवान विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनले हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिएको विश्वास गरिन्छ ।
राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्किएका थिए । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट सिद्धार्थले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्याएका थिए ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बुद्धको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गरेका छन् ।