२०८३ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ७ असार : नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक ३ देखि ४ जना महिलाले ज्यान गुमाइरहेको तथ्यले महिला स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती थपिरहेको बेला सुन्दरहरैँचा नगरपालिकामा पाठेघर तथा स्तन क्यान्सरविरुद्धको विशेष स्वास्थ्य अभियान सञ्चालन हुने भएको छ।

कल्प इम्पावर वुमेन नेपालको पहल, Nepal Bank Limited को संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको सहकार्य तथा Birat Medical College Teaching Hospital को प्राविधिक सहयोगमा “मातृत्व जोगाउने अभियान” सञ्चालन गर्न लागिएको हो। कार्यक्रम सुन्दरहरैँचा नगरपालिका वडा नं. २ र १२ को समन्वय तथा विभिन्न संघसंस्थाको सहकार्यमा असार ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार एचपीभी (HPV) भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सरबारे पर्याप्त जानकारीको अभाव, समयमै परीक्षण नगराउने प्रवृत्ति तथा लाज, डर र संकोचका कारण धेरै महिलामा रोग जटिल अवस्थामा पुग्ने गरेको छ। यस्ता समस्यालाई मध्यनजर गर्दै समुदायस्तरमै पुगेर स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, निःशुल्क परीक्षणको पहुँच विस्तार गर्ने तथा समयमै उपचारका लागि प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

अभियानअन्तर्गत महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिनुका साथै निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने जनाइएको छ। यसबाट प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचारको दायरामा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै सरोकारवालाहरूले युवा नेतृत्वमा सञ्चालन हुन लागेको यो अभियान उदाहरणीय भएको बताएका छन्। विशेषगरी ३० वर्षभन्दा कम उमेरका युवाहरूको नेतृत्वमा रहेको कल्प इम्पावर वुमेन नेपालले कुनै अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगबिना आफ्नै पहल, समर्पण र सामाजिक उत्तरदायित्वका साथ यस्तो महत्वपूर्ण अभियान सञ्चालन गर्नु प्रेरणादायी कार्य भएको उल्लेख गरिएको छ।

अभियानले महिला स्वास्थ्यप्रति जनचेतना बढाउनुका साथै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरविरुद्धको लडाइँमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय तह, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थाबीचको सहकार्यमा सञ्चालन हुन लागेको यस अभियानबाट सयौं महिला लाभान्वित हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!