विराटनगर,१ असाेज: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै विराटनगर महानगरपालिका कांग्रेसको सभापति पदमा सन्तोष न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी तथा युवा राजनीतिबाट लामो समयदेखि पार्टी संगठनमा सक्रिय न्यौपानेको उम्मेदवारीसँगै महानगर कांग्रेसको नेतृत्वमा नयाँ राजनीतिक समीकरणको बहस सुरु भएको छ।
नेपाल विद्यार्थी संघ विराटनगरका अध्यक्ष तथा तरुण दल विराटनगरका सभापतिसमेत रहेका न्यौपानेले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र कार्यकर्तामैत्री बनाउने एजेन्डासहित आफ्नो दाबी प्रस्तुत गरेका हुन्। विराटनगर–५ का वडाध्यक्ष तथा विराटनगर महानगरपालिकाका प्रवत्ता समेत रहेका न्यौपानेले वडा तहसम्म संगठन विस्तार र कार्यकर्ताबीच प्रभावकारी समन्वयलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।
महानगर सभापतिका लागि न्यौपानेको उम्मेदवारीलाई उनका समर्थकहरूले संगठनभित्र बढ्दो प्रभाव र युवा पुस्ताको समर्थनसँग जोडेर हेरेका छन्। गत १४ अाै महाधिवेशनमा विराटनगर नगरसभापतिमा दिपक चापागाईसग झिनाे मतले पराजित भएका न्याैपाने लामो समय विद्यार्थी तथा युवा संगठनमा सक्रिय रहेको अनुभव, वडास्तरमा निर्वाचित जनप्रतिनिधिका रूपमा गरेको राजनीतिक अभ्यास तथा कार्यकर्तासँगको निरन्तर सम्पर्कलाई उनको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ।
न्यौपानेले महानगरका सबै वडामा कांग्रेसको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउँदै पार्टीलाई जनतासँग अझ नजिक जोड्ने प्रतिबद्धता जनाएका छन्। उनका पक्षधरहरू भने संगठनभित्रको सक्रियता, युवा पुस्तासँगको सम्बन्ध र कार्यकर्ताबीचको पहुँचका कारण सभापतिको प्रतिस्पर्धामा बलियो दाबेदारी प्रस्तुत गर्न सक्ने अवस्था बनेको बताउँछन्।
उम्मेदवारी घोषणासँगै विराटनगर कांग्रेसको आन्तरिक राजनीति थप रोचक बनेको छ। आगामी महाधिवेशनसम्म बन्ने समीकरण, समर्थन र सहमतिले नेतृत्व चयनमा निर्णायक भूमिका खेल्ने देखिन्छ।






