विराटनगर, ५ असाेज । पत्रकारिताको क्षेत्रमा झण्डै तीन दशक बिताएका वरिष्ठ पत्रकार शेखर रेग्मीले नेपाली कांग्रेसको संगठनात्मक यात्रामा अर्को जिम्मेवारी पाएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–५ बाट उनी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन्।
पत्रकारितालाई पेशाका रूपमा अघि बढाउँदै लोकतान्त्रिक आन्दोलन र कांग्रेसको संगठनसँग पनि निरन्तर जोडिँदै आएका रेग्मी कांग्रेसको १०औँ महाधिवेशनदेखि पार्टीका महाधिवेशन तथा संगठनात्मक गतिविधिमा सहभागी हुँदै आएका छन्। सञ्चारमाध्यममार्फत जनताका मुद्दा उठाउँदै आएका उनी पछिल्लो समय पार्टीको सूचना तथा प्रचार क्षेत्रसँग समेत प्रत्यक्ष रूपमा जोडिएका छन्।
रेग्मी हाल नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिको सूचना तथा प्रचार विभागका सहसंयोजक छन्। साथै उनी रेडियो स्टार एफएमका अध्यक्षका रूपमा सञ्चार क्षेत्रको नेतृत्व गरिरहेका छन्। राष्ट्रिय समाचार समितिको बोर्ड सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका रेग्मीले पत्रकारिता र सञ्चार व्यवस्थापनको क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्।
उनको राजनीतिक तथा पत्रकारिता यात्राको महत्वपूर्ण अध्याय नेपाल प्रेस युनियनसँग पनि जोडिएको छ। २०६४ सालमा पोखरामा सम्पन्न नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यसयता पत्रकारको पेशागत हकहित, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यका पक्षमा उनी सक्रिय रहँदै आएका छन्।
पत्रकारिता, प्रेस संगठन र कांग्रेसको सांगठनिक भूमिकालाई समानान्तर रूपमा अघि बढाउँदै आएका रेग्मीको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयनले उनको राजनीतिक यात्रालाई थप औपचारिक जिम्मेवारीतर्फ अघि बढाएको छ।
वडा तहबाट प्राप्त यो जिम्मेवारीसँगै रेग्मीले आगामी दिनमा पार्टी संगठन, सञ्चार क्षेत्र र लोकतान्त्रिक मूल्यका विषयलाई थप प्रभावकारी ढंगले उठाउने बताएका छन्।






