बिराटनगर ,११ जेठ : यस वर्षको प्रि–मनसुन सुरु भएसँगै देशभर मनसुन सक्रिय हुने अवस्था आएको छ। मनसुनका कारण करिब ४ लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ।
मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२” मा सो आँकलन गरिएको हो।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार प्रभावितमध्ये करिब १० प्रतिशतलाई उद्धार र राहत आवश्यक पर्न सक्नेछ।
“हामीले यसपटकको मनसुनमा देशका सबै प्रदेश प्रभावित हुने गरी करिब २० लाख नागरिक प्रभावित हुने अनुमान गरेका छौं। त्यस अनुसार क्षेत्रगत रूपमा जिम्मेवारी तोकिएको छ,” केसीले भने, “मौज्दात सामग्रीको अवस्था, आवश्यक पर्ने थप स्रोत र साधनको आँकलन गरी कार्ययोजना तयार गरिएको हो।”
गृहमन्त्रीको अध्यक्षतामा यही जेठ १४ गते बस्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त कार्ययोजना पेश गरिनेछ। बैठकबाट पारित भएपश्चात कार्ययोजना कार्यान्वयनमा ल्याइने केसीले जानकारी दिए।
उनका अनुसार केन्द्रदेखि स्थानीय तहसम्म कार्य विभाजन गरी जिम्मेवारी तोकिएको छ। साथै, कार्ययोजनामा प्रत्येक महिनामा विपद्सम्बन्धी अवस्थाको अनुगमन, मूल्यांकन र समीक्षा गर्ने व्यवस्था पनि गरिएको छ।
यसअघि मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसुनसम्बन्धी पूर्वानुमानअनुसार यस वर्ष वर्षा, अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी हुने सम्भावना छ।
विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी क्षेत्र र गण्डकीको अधिकांश भागमा ५५ देखि ६५ प्रतिशत सम्भावनासहित औसतभन्दा बढी वर्षा हुने देखिएको छ।
सुदूरपश्चिमको दक्षिणी भाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी क्षेत्र, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा ४५ देखि ५५ प्रतिशत सम्भावना रहेको छ। त्यस्तै, मधेसको पूर्वी तथा दक्षिणी भागसहित देशका अन्य क्षेत्रहरूमा ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ।


										
												
												
												
												
												
												

