२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,११ जेठ: कोशी प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभाबाट बहुमतका आधारमा पारित भएको छ।

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिकमतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गरेका थिए। सभामुख अम्बरबहादुर विष्टले ध्वनिमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे।

यसअघि, प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ५ गते प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त दस्तावेजले प्रदेशको दिगो विकास, वित्तीय सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ।

नीति तथा कार्यक्रममा संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेशको संरचनात्मक सुदृढीकरणमा जोड दिइएको छ। साथै, भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि, उर्जा र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखी दिगो विकासको योजना अघि सारिएको छ।

नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका सांसदहरूको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सरकारले दीर्घकालीन सोचका साथ नीति तथा कार्यक्रम ल्याएको स्पष्ट पारे। उनले प्रदेशका समग्र विकासलाई ध्यानमा राखेर कार्यक्रम तयार गरिएको दाबी गरे।

बैठकमा सांसदहरूले विकासका पूर्वाधार, स्रोत व्यवस्थापन, स्थानीय तहसँगको समन्वय र नागरिकको जीवनस्तरसँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै अब बजेट निर्माणको तयारी सुरु हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!