
सुनसरी : सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी चोरी गर्न खोज्दा घरधनीको खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ।
बिहान रामधुनी–२, शिवनगरस्थित सन्तोष चौधरीको घरमा चोरी गर्न पुगेका रामधुनी–४, लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएपछि उपचारकै क्रममा ज्यान गएको हो।
घरमा खसी चोरी भइरहेको थाहा पाएपछि सन्तोष चौधरीले होहल्ला गरेका थिए।
त्यसक्रममा राकेश भागे पनि उनलाई पछ्याउँदै जाँदा सन्तोषले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारले राकेशको दाहिने हातको नाडीमा गम्भीर चोट लागेको थियो ! घाइते राकेशलाई तत्काल झुम्कास्थित साई अस्पताल लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइए पनि बिहान करिब ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जानकारी दिएको छ।
प्रहरीले खुकुरी प्रहार गर्ने सन्तोष चौधरीलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।