सुनसरी : कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले अब स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमश घटाउँदै व्यावसायिक नगदेबाली उत्पादनमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताए ।
आज धरान उपमहानगरपालिका–२० स्थित कफी तथा कृषि उद्यम केन्द्रको अनुगमन एवं अवलोकनका क्रममा उहाँले प्रदेशमा उत्पादित कृषिजन्य वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन सकिने उल्लेख गरे । प्रदेश प्रमुख खापुङले नेपाली कृषिजन्य उत्पादन, विशेषतः कफी र चियालाई लक्षित प्रचारप्रसार र प्रभावकारी ब्राण्डिङमार्फत अन्तरराष्ट्रिय बजारमा समेत स्थापित गर्न सकिने सम्भावना रहेको धारणा राखे ।
“स्थानीय माटो, हावापानी र मौसमले अनुकूलता प्रदान गर्ने भएकाले किसानहरूले नगदेबाली उत्पादनमा अग्रसर हुनुपर्छ । यसले दीर्घकालीन रूपमा स्थानीय रोजगारी सिर्जना गर्छ, दिगो आयआर्जन बढाउँछ र प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ, उनले भने ।
प्रदेश प्रमुख खापुङले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउन सके मुलुकको व्यापार घाटा कम गर्न महत्वपूर्ण टेवा पुग्ने पनि बताए । उनले कफीसँगै चियामा पनि उत्तिकै सम्भावना रहेको भन्दै दुवै बालीको प्रवर्द्धनमा प्रदेश सरकार, स्थानीय तह र किसान सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
म बजेट वितरण गर्ने जिम्मेवारीमा नरहे पनि कृषकहरूलाई प्रोत्साहित गर्न र प्रदेशको कृषि क्षेत्रलाई सशक्त बनाउन आवश्यक सरकारी पहल र सहयोगका लागि व्यक्तिगत रूपमा सधैँ तयार रहेको प्रदेश प्रमुख खापुङले प्रतिबद्धता जनाए ।
उनले कोशी प्रदेशमा कृषि व्यवसायलाई आधुनिकिकरण गर्दै व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न सके प्रदेशको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।




