२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान :  कलेजो रोगका कारण चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान–८ का रोशन राईको उपचारका लागि धरान–३ निवासी इम्तियाज सिद्धिकी र उनका सहोदर भाई नियाज सिद्धिकीले नगद रु.१३ हजार रुपैयाँ सहयोग गरेका छन् !

 धरान–८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा रहेका राईको घरमै पुगेर टेलरिङ व्यवसायमा सक्रिय इम्तियाज सिद्धिकीले १० हजार र उनका कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरी जम्मा १३ हजार रुपैयाँ रोशन राईकी श्रीमती शान्ति तामाङलाई हस्तान्तरण गरिएको हो।

  मजदुर नेता भीमज्वाला राईले रोशन राईको अवस्था सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि सहयोग गर्ने चाहना व्यक्त गरेको इम्तियाज सिद्धिकीले जानकारी दिए। उनले भने, “भीम दाइको पहलमा हामी मुस्लिम युवाहरु, जो धरानमा सिलाइ-कटाइको काम गर्छौं, एकीकृत भएका छौं। सामाजिक सेवामा पनि साथ दिने प्रयास गर्दै आएका छौं।”

  ४० वर्षीय रोशन राईले विगत केही वर्षदेखि दाउरा बेचेर श्रीमती र एक छोरीको जीवन धान्दै आएका थिए। बैशाखदेखि जन्डिस र मृगौलामा समस्या देखिएपछि उनी घरमै ओछ्यानमा परेका छन्। आइतबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. सञ्जीव शर्माले राईको निवासमै पुगेर स्वास्थ्य जाँच गरेका थिए। डा. शर्माका अनुसार, राईको पेटमा धेरै पानी जमेकाले चार दिनपछि अस्पताल भर्ना गराई पानी निकाल्नुपर्ने छ।

  चिकित्सकको सल्लाह अनुसार, राईको कलेजो प्रत्यारोपण गर्नु पर्ने अवस्था आएको छ, जसमा अनुमानित १५ देखि २० लाख रुपैयाँ खर्च लाग्नेछ। तर, राईको परिवार यस्तो ठूलो रकम जुटाउने अवस्थामा छैन। “बिहान बेलुकी गुजारा चलाउनै हम्मेहम्मे छ,” श्रीमती शान्ति तामाङले भनिन्।

रोशन राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले पहल गरिरहनुभएको छ। इच्छुक महानुभावहरूले बिरामीको उपचारमा सहयोग गर्न चाहेमा उनकी श्रीमती शान्ति तामाङसँग ९७०८२५५३११ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!