२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

-आरसी कोइराला, विराटनगर ।

मेरो काका स्कुटर दुर्घटनामा पर्नुभएको साथै पुन: हृदयघात भएकोले म नोबेल अस्पताल विराटनगरमा व्यस्त थिएँ । सबैतिर दसैंको रमझम थियो । बजारभरि दसैं किनमेलका लागि मान्छेको भीड हुन्थ्यो, अस्पताल पनि निकै भिड्भाड थियो । छिन-छिनमा कोभिडले ग्रस्त भएका बिरामी आउने र मृत्यु भएका बिरामी प्लास्टिकले बेरेर निकाल्ने क्रम चलिरहेको थियो । कसैलाई पनि कोरोनाको पर्वाह थिएन । सबै आफैंमा मस्त थिएँ ।

अस्पतालमा काकालाई हेर्न बहिनी ज्वाइँहरु दुवैजना हुनुभएकोले राति सुत्ने पालो दिने सल्लाह गर्दै म २०७७/०७/१८ गते सधैं जस्तै बेलुका घर आएँ, घर आउँदा थाहा भयो छोरीलाई हल्का रुघाखोकी लागिरहेको रहेछ, कोरोनाको कारण तुरुन्तै डक्टर भेट्न जान भन्दा फोन गर्ने हामी श्रीमानश्रीमतीले सल्लाह गर्यौं । छोरीको नियमित जाँच तथा उपचार गराइरहनु भएको डा. अरुण गिरीले एकैपटकमा फोन उठाएर छोरीको लागि आवश्यक औषधि ह्वाट्सएपमार्फत बताइदिनु भयो । राति अस्पताल जाने भएकोले श्रीमतीलाई तिमी खाना बनाउँदै गर म छोरीको लागि औषधि लिएर आउछु भन्दै निस्किएँ ।

करिब २० मिनेटमा औषधि लिएर आएँ, तर घरभित्र छिर्दा घरको माहोल नै फरक थियो । भान्सामा पाक्दै गरेको खानेकुराको वास्ना नै आएन भन्दै श्रीमती आत्तिरहेकी थिइन् । स्थितिलाई सामान्य बनाउँदै नआत्तिन भनेँ तथापि मनमा डर पैदा भयो । अब अस्पताल नजाने निर्णय गरी ज्वाइँसाबलाई खबर गरेँ । उक्त दिन दिउँसोदेखिनै मेरो टाउको र पछाडि ढाड निकै दुखिरहेको थियो, चिसो र अरु नै केही कारणले होला भन्दै वेवास्ता गरिरहेको थिए । कोरोना सर्ने कुराले सुरुवाती दिनदेखि नै मनमा संत्रास पैदा हुन्थो । त्यसैले जहिले पनि अत्यन्तै होसियार भएर काम गरिरहेको हुन्थें ।मास्क र सेनिटाइजर पटक्कै छोडेको थिइनँ ।

घरमा आवत-जावत भइरहने बुबाआमा, काका-काकी अलिक रोगी र बूढो अनि छोरी सानै हुनाले पनि कताकता डर लागिरहन्थ्यो । केही दिन अगाडि कार्तिक ४ गते पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । कुनै पनि सिम्टम्स देखिएको थिएन ।

भोलिपल्ट २०७७/७/१९ गते हामी तीनैजना छोरीसमेतको पिसिआरको लागि जैन भवनमा गएर स्वाब दियौं । २० गते राति वडा न ८ का वडा अध्यक्ष निस्चल अर्यालको फोन आयो । मोबाइलमा निश्चल अर्याल देख्दै पोजिटिभको शंका लागिहाल्यो तर सबैलाई हो वा के हो भन्ने भयो वहाँले फटाफट तपाईंहरु दुईजना तपाईं र अस्मिता भट्टराईलाई पोजिटिभ देखायो भन्नुभयो मैले छोरीको नाम हेर्न भने एकछिनमा फोन गर्नु भन्नुभयो । मन आत्तिरहेको थियो श्रीमतीको अनुहारमा उदाशिनता छाएको थियो । ५ मिनेटपछि फोन गरेर छोरीको नेगेटिभ छ भन्नू भयो अनि छोरीलाई छुट्टै राख्नुहोला नआत्तिनु कसैलाई पठाउनु वडामा केही औषधि पाइन्छ लगेर खानुहोला भन्नुभयो ।

दुईजनाको रिपोर्ट पोजेटिभ आयो तर अस्ति श्रावण २१ गते ४ पुगेर ५ लागेकी छोरीको नेगेटिभ । अब झन् समस्या आयो । अब छोरीलाई कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले मन अत्यन्तै दोधारमा पर्यो विभिन्न खालका सल्लाह भए, छोरीलाई कहाँ राख्ने भनेर । कोरोनाको खास दबाई नभएकोले हामी जे गर्छौ छोरीलाई पनि त्यही गराउने अन्तः पठाउँदा उसलाई नि गाह्राे । हामीलाई छोरीको चिन्ता थप बढ्ने निष्कर्षमा हामी पुग्यौँ र आफैँसँग राख्ने निर्णयमा पुग्यौं । मेरो सिटी भ्यालु १५.८ र श्रीमतीको २६.५ आएको रहेछ।

विश्वव्यापी फैलिएको कोरोना महामारीले हामीलाई नभेट्नेमा दुई मत थिएन । जतिनै होसियारी गरे पनि कहीँ न कहीँ हामीले होस् गुमायौं र हामीलाई कोरोना लाग्यो । जतिसुकै जोखिम भए पनि उच्च सावधानी अपनाएको भए सायद कोरोना लाग्दैनथ्यो होला । त्यसैले म कसैलाई पनि दोष दिन चाहन्नँ ।

पहिलेदेखि नै एक दिन कोरोना लाग्ने नै हो भन्ने सोचेर होला मेरो आत्मबल उच्च नै थियो । श्रीमतीलाई पनि आत्मबल उच्च राख्न सुझाएँ। खासै तनाव लिने काम गरिनँ । हामी तीनैजना होम आइसोलेसनमा बस्ने निर्णय गर्‍यौं । फोनमा कुराकानी भैरहेपनी आमाबुबा, काकाकाकी र बैनीज्वाइँहरु लगायत साथीभाइहरुसँग भने आजसम्म भेट भएको छैन ।

तेस्रो र चौथो दिन मेरो शरीर अत्यन्तै दुखिरहेको थियो । शरीरको पछाडिको माथिल्लो भाग र तल्लो भाग धेरै दुखेको अनुभव भइरहेको थियो । शरीरमा कपडाले छुँदा पनि दुख्थ्यो, हल्का ज्वरो आइरहेको अनुभव हुन्थ्यो । शरीर अत्यन्तै कमजोर र शिथिल भएको थियो । टाउको असाध्यै दुखिरहेको थियो । चौथो दिन दिउँसोबाट श्रीमतीलाई कतिकति बेला श्वास फेर्न अलिक कठिनाइ भएजस्तो भयो । तैपनि खासै गाह्रो पारेको थिएन । साथी दिनेश दाहाललाई अक्सोमिटर किनेर ल्याउन अनुरोध गरेँ ।

बेलाबेलामा अक्सिजनको मात्रा हेरिरहन्थें, मेन्टेन नै हुन्थ्यो अनि ढुक्क हुन्थें । कसैगरी शरीरमा अक्सिजनको मात्रा घटेमा तत्कालै शरीरलाई अक्सिजन चाहिने हुन्छ र अस्पताल भर्ना गर्नुपर्छ भन्ने डर थियो । बेलुका ८ बजेतिर श्रीमतीलाई अलिक गाह्रो भयो, मैले पहिला दाइ ज्ञानु खड्कालाई फोन गरेँ र उहाँकै सल्लाहअनुसार मेयर भीम पराजुलीलाई फोन गरेँ । भीम दाइले नआत्तिनु मेरो गाडीमा सिलिन्डर छ १५ मिनेटमा घर आइपुग्छु भन्नुभयो । नभन्दै १५ मिनेटभित्र अरुण न्यौपाने र मेयरसाब घरमा नै आइपुग्नु भयो र तुरुन्तै अक्सिजन लगाइयो । केहीबेरमा नै अवस्था सामान्य भयो । पाचौं दिन पनि बेलुकातिर श्रीमतीलाई सास फेर्न अलिक गाह्रो भयो डा. प्रज्वल खतिवडासँग सम्पर्क गर्यौं । वहाँले ज्वोरो, अक्सिजनको मात्रा, मुटुको धड्कनलगायत सबै कुरा फोनबाट नै बुझ्नुभयो र स्पारोमिटर ल्याएर प्रयोग गर्न सल्लाह दिनुभयो, यसको प्रयोगले धेरै राम्रो भयो ।

ज्वरो र शरीरको दुखाइ भने कोडोपार सिटामोल ले कम गर्थ्यो। फेरि कोरोना लागेमा दुखाइ कम गर्ने अन्य दबाइहरुको प्रयोग गर्नु हुँदैन । हरेक ५/६ घण्टासम्म सिटामोलले राम्रो काम गर्थ्यो । दुबैजनालाई गन्ध हराए पनि भोक असाध्यै लाग्थ्यो । त्यसैले हरेक दुईदुई घण्टामा केही न केही खाइरहन्थ्यौँ ।

कसैकसैलाई भोक नै लाग्दैन भन्ने सुनिन्छ । भोक नलागे पनि जबरजस्ती केही न केही खाइरहनुपर्छ । तातो पानी, सुप, फलफूल, र प्रोटिनयुक्त खानेकुरा निरन्तर मन नलागे पनि खाइरहनुपर्छ । कसैकसैले सप्लिमेन्ट भिटामिनहरु पनि लिएको पाइन्छ । हामी पनि लगभग २ महिना अगाडिदेखि भिटामिन सी र ई नियमित रुपमा राति सुत्ने बेलामा सेवन गर्थ्याैं ।

बिहान उठ्नेबित्तिकै जहिले पनि ध्यान, प्रणायाम, योगा गर्ने, केही काम गर्न वा लेख पढ गर्न पनि पटक्कै मन नलाग्ने हुनाले दिनभरि सुतेपछि झनै कमजोर हुने हुनाले कोठामै भए पनि यताउता हिँडिरहन्थौं । दिनमा तीन, चार पटक तातोपानीले बाफ लिने गर्यौं ।

सुरुवातका ५/६ दिन सामाजिक सञ्जालबाट टाढा भैइयो । आफूलाई सकृय राख्ने सोचले दिनमा एउटा मात्र भएपनि बिहान ७:४५ देखि ८:२५ सम्मको अनलाइन पढाइरहे । कोरोनासँग सम्बन्धित समाचारले आफ्नो मन आत्तिने र कमजोर बनाउने काम गर्छ। त्यसैले त्यस्ता कुराहरुबाट टाढा बस्नु नै उत्तम हुन्छ। बरु मोटिभेसनल भिडियोहरु, किताबहरु पढ्नुपर्छ भन्ने थाहा थियो ।

चौथो दिन श्रीमतीको नाक खुल्यो तर मेरो अझैसम्म पनि खुलेको छैन । छैटौं, सातौं दिनमा अन्य सिम्टमहरु हराउँदै गए । हामी जे-जे गर्थ्याैं  छोरीलाई पनि त्यही गरायाैं तर पहिला जस्तो एउटै थालमा खाने, एउटै तौलिया प्रयोग गर्ने जस्ता काम बिल्कुलै गरिएन । प्राय:घरभित्र मास्क लगाएर नै बस्यौ । आज एघारौं दिन पनि अरु कुनै समस्या नभएपनि श्रीमतीलाई बेलाबेलामा सास फेर्न गाह्रो भैरहेको छ । मेरो शरीर अलिक कमजोर भएजस्तो महसुस भएपनी म र छोरी अहिले स्वस्थ छौं ।

कोरोना वास्तविकता भन्दा बढी नै ब्रान्डिङ भएको मैले महशुस गरे । हो यसले कमजोर पक्कै बनाउने रैछ तर नियमित खानपिन, तातो पदार्थ र घरेलु जडिबुटी जस्तै गुर्जो, अमला, बेसार, खाने कपुर, दालचीनी, सुकमेल, असुरो नै यसको मूल औषधि हो भन्ने मलाई लाग्यो । तसर्थ, यसका अभियन्ताहरुको कुरा नसुनेर आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गर्दछु ।

साथै कोरोना लागि होम आइसोलेसनमा रहेका जो कोहिलाई पनि आफन्त र साथीभाइहरुको फोन वा सामाजिक सञ्जालमार्फत भएपनि साहसको आवश्यकता हुने रहेछ, यसले बिरामीलाई थप ऊर्जा प्रदान गर्दछ । यसमा कसैले पनि कन्जुस्याइँ नगरौँ, यसले बिरामीलाई ऊर्जा प्रदान गर्दछ । हामीलाई समय-समयमा फोन तथा मेसेजबाट ऊर्जा प्रदान गर्ने दाइ अर्जुन नेपाल, प्रा.डा.देबेन्द्र अधिकारी, डा.रामप्रसाद कोइराला, नरेश पौडेल, भेसराज पोख्रेल, रोशन घिमिरे, दिनेश दाहाल ,रवी कटुवाल, हरिकृष्ण अर्याल ,केशव चन्द, दानकुमार ढकाल, लक्ष्मण ढकाल, संगम उप्रेती, मोहनकुमार श्रेष्ठ, तुलसी खतिवडा, केदार के.सि., सुभाष लुइँटेल, अनिश गुरागाई, सविन दहाल, गौरव सर्मा, रेश्मा गिरी, रश्मिता अधिकारी, प्रतिभा पाण्डे, आरध्य भट्टराई, नवीन गौतम, त्रीलोचन भट्टराई, एके दास, जनक ढकाल, दीपक कटुवाल, मीनकुमार नवोदित, शिशिर लामा, सम्पूर्ण विध्यार्थी भाइ बहिनी, अभिभावक, आफन्तलगायत हाम्रो सु:स्वास्थको कामना गर्ने सम्पूर्णमा नमन गर्दै हार्दिक आभार प्रकट गर्दछु ।

२०७७/०७/३० गते दिउँसो बिएफएम मा कोरोना र अनुभवसम्बन्धी आफ्नो अनुभव कार्यक्रममा कैलाश खाकी श्रेष्ठसङ फोन मार्फत सहभागी हुने अवसर पाएँ । मैले उक्त कार्यक्रममा नै घोषणा गरेको छु, चौध दिनपछि प्लाज्मा थेरापीको लागि प्लाज्मा दान गर्न तयार छु । केरोनाबाट गम्भीर किसिमका बिरामीलाई प्लाज्मा थेरापीको लागि रगत चाहिएमा रगतदान गर्नेछु। मेरो रगत समूह ए” नेगेटिभ हो भने श्रीमती को “ओ” पोजिटिभ हो । अन्य निको भइसकेका संक्रमितले पनि आफ्नो रगत दान गर्नु होला ।

अमेरिका, बेलायत, चीन, रूसलगायत देशमा कोरोनाविरुद्धको खोप विकासको काम अन्तिम चरणमा पुगे पनि उक्त खोप नेपाली बजारमा आइपुग्न निकै समय लाग्नेछ । संक्रामक रोगसम्बन्धी अमेरिकी बिज्ञ डा.एन्थोनी फाउचिले कोरोना भाइरसविरुद्धको खोप आइसकेपछि पनि मास्क र सामाजिक दुरी आवश्यक रहेको सुझाव दिएका छन् ।

नेपालमा सुरुवातका दिनभन्दा हिजोआज आम मानिसले कोरोनालाई सामान्य रुपमा लिन थालेको र खेलाँची गरेको महशूस हुन्छ । कृपया, कोरोनालाई त्यति सामान्य रुपमा पनि नलिनुहोला । आफूलाई नलाग्दासम्म कोरोना सामान्य लाग्छ, तर जसलाई लाग्छ, उसैलाई थाहा हुन्छ कोरोनाको पीडा कस्तो हुन्छ भनेर । कोरोना अदृश्य र आरएनए जिवित जिवाणु भएकोले भागेर लुक्ने ठाउँ छैन, दबाई बनिसकेको छैन तसर्थ, सावधानी अपनाउनु र संयम रहनु नै आजको मुख्य आवश्यकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!