
विराटनगर, ४ मंसिर । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु हुने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारी गरिएको हो ।
सामाजिक विकास मन्त्रालयले अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरेर कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सिकाईलाई निरन्तता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गर्न लागेको हो । पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए ।
धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताए ।
मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनको भनाइ छ । नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिममार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाइ छ । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा एक सय २९ रुपैयाँले १ महिना पुग्ने उनले बताए ।
बुढाथोकीका अनुसार विद्यार्थीका लागि सितैमा सिम दिइने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था गरिने छ । नेपाल सरकारको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताइएको छ ।
स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए । उनका अनुसार विद्यार्थी छनौट गर्दा गरिबभित्रको पनि गरिबलाई छनौट गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ ।
अभिभावकको मोबाइल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताए । अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । कोरोनाको संक्रमण कहिलेसम्म भन्ने यकिन नभएकाले पठनपाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाई सुरु गर्ने तयारी गरेको उनले बताए ।
‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले एक लाख ५० हजार र स्थानीय तहले एक लाख रुपैयाँ व्यहोर्ने छन् ।