
विराटनगर, २ पुस । विराटनगर महानगरपालिकाभित्रका विद्यालय आजबाट सञ्चालनमा आएकाका छन् । कोरोना त्रासका कारण सरकारको निर्देशनअनुसार २०७६ चैतदेखि बन्द भएका विराटनगरका विद्यालय आजबाट सञ्चालानमा आएका हुन् ।
मंसिर २१ गते महानगरको शिक्षा समितिले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्न अनुमति दिएको थियो । महानगरले कोरोनाको जोखिमको अवस्था, विद्यार्थीको भौतिक उपस्थिति, कक्षा सञ्चालनका लागि उपलब्ध भौतिक पूर्वाधार, कोरोना सङ्क्रमण फैलन नदिन विद्यार्थी तथा शिक्षकले अपनाउनुपर्ने सावधानी लगायतका विषयलाई समेटेर व्यवस्थापनका लागि सहज बनाउन सात बुँदे विकल्प दिएको छ ।
सबै विद्यार्थीलाई समेटेर कक्षा एकै साथ सञ्चालन गर्ने, अलगअलग समयमा तहगत रुपमा कक्षा सञ्चालन गर्ने, विद्यालयको अवस्था हेरेर अघिपछि पठनपाठन गराउने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने लगायतका विषयलाई समेटेर निर्देशिका महानगरले जारी गरेको छ ।