२०७९ माघ २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बराहक्षेत्र, ७ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्डमा छ जनाको एक समूहले उदाहरणीय काम गरिरहेको छ । छ जनामध्ये एक जना काठमाडौं घर भइ चितवन बस्ने एक जना छन् भने अरु पाँचैजना स्थानीय हुन् ।

सो समूहले करिब डेढ वर्षअघिदेखि सुनसरी जिल्लाकै विकट क्षेत्र सूर्यकुण्डमा व्यवसायिक स्ट्रवेरी खेती गर्दै उक्त क्षेत्रलाई चिनाउने उद्देश्यका साथ पर्यटन प्रवर्द्धन पनि गरिरहेको छ । सुनसरीको चतरा बजारदेखि करिब १३ किलोमिटर उत्तरतर्फ हालै मात्र सवारी साधन पुगेको सो क्षेत्रमा करिब डेढ–दुई वर्षबाट मात्र सवारी साधन पुग्न थालेको हो ।

छ जनाको समूहका एक हुन्, अमेरिकामा कृषिमा विद्यावारिधी (पिएचडी) गरेर नेपाल फर्किएका ससन देवकोटा । अमेरिकामा कृषिमा विद्यावारिधी गरेर ससन नेपालमै केही गरौं भनेर स्वदेश फर्किए ।

स्ट्रवेरी खेती गर्नकै लागि चिसो ठाउँ खोज्दै सूर्यकुण्ड आइपुगेका ससनको भेट सूर्यकुण्डकै स्थानीय अर्जुन कुलुङ राईलगायतको टोलीसँग भयो । सूर्यकुण्डमा व्यवसायिक तरकारी खेती गरिरहेका राईसहितको टोलीसँग सहकार्य गर्दै ससनले स्ट्रवेरी खेती गर्ने योजना बनाए । ससनले स्ट्रवेरीबारे अमेरिकामा पनि ज्ञान बटुलेर आएका थिए ।

सूर्यकुण्डका अर्जुन, तपेन्द्र राई, गंगाराम राई, भीमबहादुर राई र दीपक राई गरी पाँच जनासँग सहकार्य गरेर आफ्नो अनुभवलाई थप निखार्दै स्ट्रवेरीको व्यवसायिक खेती गर्ने निधो गरे । उनीहरूले स्थानीय साथीहरूको एक विघा जग्गा लिजमा लिएर १५ लाखको लगानी गरी स्ट्रवेरी खेती थाले ।

पहिलो सिजन दुई–तीन कठ्ठामा लगाएको स्ट्रबेरी खेतीमा राम्रो आम्दानी देखेपछि यसको विस्तार गरी एक विघामा स्ट्रवेरी लगाए । अघिल्लो वर्ष ठीक–ठाक आम्दानी भए पनि यो वर्ष भने राम्रो आम्दानीको अपेक्षा गरेको अर्जुन बताउँछन् ।

‘स्ट्रवेरीको पहिलो सिजन भने ठीकठाक रह्यो,’ अर्जुनले भने, ‘पोहोर साल ट्रायल खेती भएको थियो । अघिल्लो वर्ष दुई–तीन कठ्ठामा मात्र थियो । अढाइ लाख जति आम्दानी भएको थियो स्ट्रवेरीबाट । हाल विस्तार गरेर एक विघामा लगाएका छौं । यो वर्ष भने राम्रो अपेक्षा गरेका छौं ।’ स्ट्रवेरीबाट कम्तिमा सात लाख रुपैयाँ आम्दानीको आश गरेको अर्जुन सुननाउँछन् ।

अर्जुन पनि वैदेशिक रोजगारबाट फर्किएका हुन् । विदेशमा सोचेअनुरुप कमाउन नसकेपछि पूर्वी अफ्रिकन देश मौरिसयसको तीन वर्षे बसाइ बिट मार्दै नेपाल फर्किएका अर्जुनले ससनसँग भेट हुुनुअगाडि चार जनासँग सहकार्य गरेर तरकारी खेती गर्दै आएका थिए ।

ससनसँग भेट भएपछि उनीहरूले ‘चियावारी एग्रो टुरिजम एन्ड रिसोर्स सेन्टर’ नामक फर्म दर्ता गरे । उनीहरूले पर्यटन प्रवर्द्धनसमेत गर्ने योजनाका साथ सो संस्था दर्ता गरेका हुन् । दुवै कामलाई सँगसँगै अगाडि बढाइरहेका उनीहरूले स्ट्रवेरीको काम सबै आफैं गर्छन् ।

‘टिप्नका लागि कहिलेकाहीँ मानिस खटाउँछौं । अन्यथा सबै काममा आफैं खट्छौं । यहाँबाट मोटरसाइकलमा धरानसम्म पुर्याउँछौं । तरकारीचाहिँ गाडीमा लग्छौं । स्ट्रवेरी एकैपटक धेरै बोक्न नमिल्ने, जोगाएर लानुपर्ने भएका कारण बाइकमा ढुवानी गर्न गर्नुपर्छ’, अर्जुनले भने ।

हाल उनीहरूको बजार भनेको सुनसरीको धरान उपमहानगरपालिका हो । त्यसबाहेक त्यहाँ आउने आन्तरिक पर्यटकले पनि स्ट्रवेरीको माग गर्ने अर्जुनले बताए । विशेषगरी शनिबार त्यहाँ आन्तरिक पर्यटकको चहलपहल धेरै हुन्छ । घुम्न आउनेले यसकाे माग गरेकाे अर्जुन बताउँछन् । ‘कतिले त यहाँकाे विशेष काेशेलीको रूपमा लग्छन्,’ उनले भने ।

होलसेलमा बेच्नुपर्दा प्रतिकिलो ६०० रुपैयाँमा बिक्री हुँदै आएको स्ट्रवेरी खुद्रा मूल्यमा बेच्नुपर्दा ६५० प्रतिकिलो बिक्री हुन्छ । गाउँघरबाटै यसको माग बढेको अर्जुनको भनाइ छ । होलसेलमा बेच्नुपर्दा धरान लग्ने गरेका छन् ।

स्ट्रवेरी मंसिर महिनाको दोस्रो साताबाट पाक्न थाल्छ । मंसिरबाट चैत महिनासम्म उनीहरूलाई धमाधम नै हुन्छ । टिप्ने काममा मान्छे लगाए पनि झारपात केलाउने गोड्नेलगायत अरू काम आफैं गर्ने उनको भनाइ छ ।

विशेषगरी स्ट्रेरीलाई प्रांगारिक पर्दाथ भएको माटोको आवश्यक पर्ने भएका कारण प्रांगारिक मलको नै प्रयोग गरी उत्पादन गर्नेगरेको उनी बताउँछन् । अर्जुनले हालै अकबरे खुर्सानीको पनि व्यवसायिक खेती गरिहेका छन् ।

आफ्नै दुई विघा जग्गामा खुर्सानी र सागलगायत तरकारी खेती गरिरहेका अर्जुनले त्यहाँबाट पनि राम्रो आम्दानी गर्छन् ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!