२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देउखुरी, १० पुस । दाङमा पछिल्लो समय व्यावसायिक कृषिकर्म गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा तीनजनाको संयुक्त लगानीमा ‘सुरवी बाख्रा तथा कुखुरा उत्पादन फार्म’ सञ्चालनमा छ । यसबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी हुदै आएको छ । रु ५० लाखको लगानीमा दुई बिघा क्षेत्रफलमा खोर बनाएर विभिन्न जातका पशुपक्षी पाल्दै आएको सञ्चालक शङ्कर गौतमले जानकारी दिए ।

“पाँच वर्षअघि तीनजना विभिन्न पेशामा आबद्ध व्यक्तिले कृषिमा केही गरौँ भन्ने लागेर शुरु गरेका हौँ,” उनले भने ।

अहिले फार्ममा लोकल कुखुरा, फइटर, बेन्टन, सिल्की, लौकाट, वनकुखुरा, बट्टाइ, साखिने र लुइँचे प्रजातिका चराहरु छन् । सबैभन्दा धेरै बजारमा बट्टाइको माग हुन्छ, बट्टाइको बच्चा र अण्डा बिक्री हुने गरेको छ । दुईजना स्थानीयवासीलाई बट्टाइ मात्रै हेर्न काम दिएको सञ्चालक गौतमको भनाइ छ । बट्टाइ र कडकनाथ जातको कुखुरा दाङमा नयाँ भएकाले पनि राम्रो व्यवसाय भएको उहाँको भनाइ छ ।

“बिक्रीका लागि कुनै समस्या छैन, उत्पादन गर्न सके जति पनि बिक्री हुन्छ”, उनले भने, “बट्टाइको बच्चा उत्पादनका लागि ह्याचरी मेसिन राखेर आफैले उत्पादन गरेका छौँ ।  यहाँ उत्पादन भएको बट्टाइ र कडकनाथ जातको कुखुरा महेन्द्रनगर, चितवन, कञ्चनपुर, डोटी, डोल्पालगायत धेरै जिल्लामा बिक्री हुने गरेको छ । दैनिक एक हजार ५०० बट्टाइँ बिक्री हुन्छ ।”

बट्टाइको सानो एउटा बच्चा रु ५० मा र एक जोडी ठूलोलाई ३५० मा बिक्री हुने गरेको छ । बट्टाइ र लोकल कुखुराको मागअनुसार पुर्याउन गाह्रो भएको छ ।” बट्टाइको मासु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । विशेषगरी दमका रोगीका लागि निकै लाभदायक मानिन्छ । गर्मी महिनाभन्दा जाडो महिनामा यसको मासुको माग बढी हुन्छ । युरिक एसिड, मुटुरोग, बाथ रोग, हाडजोर्नीको समस्या भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।

यसको मासु औषधिकै रुपमा प्रयोग हुन्छ । प्रोटिनलगायत विभिन्न तत्व प्रशस्त पाइने भएकाले विशेषरुपमा नै लिइन्छ । बट्टाइको अण्डा बालबालिकाको शारीरिक विकासका लागि निकै महत्वपूर्ण मानिन्छ ।

शान्तिनगर गाउँपालिका–१ की भविसरा घर्ती करीब डेढ वर्षअगाडि बाट कृषिकर्ममा रमाउन थालेका छन् । उहाँले घोराही–१७ ओखरामा ‘भविष्य लक्ष्मी बहुउद्देश्य कृषि फार्म प्रालि’ स्थापना गरी व्यावसायिक लोकल कुखुरा, बदिया भाले, फाइटर कुखुरा, टर्की, बट्टाइ पालेका छन् ।

वार्षिक रु १५ हजार तिर्ने गरी पाँच कट्ठा जमिन भाडामा लिएर व्यवसाय थालेका उनको फार्ममा अहिले करिब एक हजार ५०० बट्टाइ छन् । अण्डा, बच्चा तथा मासुका लागि बट्टाइ रहेको जानकारी गराउनुभयो । एक हजार ५०० मध्ये करिब ५०० अण्डा पार्ने बट्टाइ छन् ।

उत्पादित ४०० अण्डा दैनिकरुपमा घोराहीस्थित सहकारी बजारलगायत विभिन्न होटलमा निर्यात गर्ने गरेको उनले बताए । “एउटा बट्टाइको अण्डा रु ६ का दरले बिक्री भएको छ भने एक क्यारेट अण्डालाई रु २०० मा बिक्री भएको छ । अहिले करिब ५०० साना बच्चा तयारी अवस्थामा छन्”, उनले भने ।

अहिले उनको फार्ममा लोकल कुखुरा पनि छन् । केही समयअगाडि मात्र एक हजार ३०० भन्दा बढी कुखुरा रु एक हजार ३०० का दरले ४० दिने लोकल कुखुरा सुर्खेतको एक स्थानीय तहमा पठाइसकेको र एउटा बदिया भालेलाई तीन हजारका दरले बिक्री गरेको घर्तीले जानकारी दिए ।

शान्ति बालगृह संस्थामा कार्यरत उहाँ पाँच वर्षयता भने अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्चमा जोडिँदै आएको छ । घर्ती हाल मञ्चको उपाध्यक्षको पदमा कार्यरत हुछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!