२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कीर्तिपुर, १३ पुस । बाँदर धपाउने भनेर बनाइएको यन्त्रले हात्ती आतङ्क नै रोक्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । बाँदर धपाउने यन्त्र बनाउँदा बनाउँदै हात्ती नै धपाउन मिल्ने भएपछि स्थानीयवासी खुसी भएको बताउनुहुँदै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले यन्त्रलाई अझ परिस्कृत बनाउने तयारीमा लागिपरेको जानकारी दिए ।

हुन पनि मानव बस्तीमा हात्तीले बारम्बार दुःख दिन थालेपछि सौराहामा स्थानीयवासी हैरान थिए । हात्ती धपाउन पुत्ले मेसिन जडान गरे । जडान गरिएको हात्ती धपाउने पुत्ले मेसिन अहिले परीक्षणका क्रममा रहेको बाघमारा सामुदायिक वनका अध्यक्ष जितु तामाङले जानकारी दिए । उनले यो मेसिनले धेरै आशा जगाएको बताए । मेसिनले प्रभावकारी काम गर्यो भने आविष्कार केन्द्रप्रति पीडित स्थानीयवासी खुसी हुने बताए ।

वन्यजन्तु मार्नु पनि भएन तर हात्तीले हैरान गर्न थालेपछि यसरी मेसिनबाट भगाउने उपाय अपनाइएको उनले बताए । विगतमा मानव बस्तीमा हात्ती पसेको थाहा पाएमा टिन ठटाउने, ठूलो स्वरमा कराउने, आगो बाल्ने र रातभरि जाग्राम बसेर बस्तीको रेखदेख गर्ने काम स्थानीयवासीले गर्थे तर जाडोको समयमा रातभर बाहिर बसेर पहरा दिन कठिन हुने गरेको उनले सुनाए ।

त्यही कठिनाइ हटाएर घरभित्रैबाट हात्ती धपाउन सकिने मेसिन अहिले जडान गरिएको हो । केन्द्र प्रमुख पुनले भने,  “पहिले मकै खाएर किसानलाई दुःख दिने बाँदर धपाउनका लागि भनेर बनाउन थालिएको हो तर पछि बँदेल र मानिसको ज्यानै लिने हात्तीसमेत धपाउने गरी बनाउनुपर्ने सोच आएपछि त्यो अवधारणाको उपयोग गरिएको हो ।”

राष्ट्रिय आविष्कार केन्द्रमा बनेकामध्ये एउटा मेसिन अहिले सौराहाको बाघमारा सामुदायिक वनको गेटमा राखेर परीक्षण थालिएको छ । उनका अनुसार घरमा मोबाइल चलाएकै भरमा पुत्ले मेसिन चलाउन सकिन्छ । हात्ती आएको चाल पाउनासाथ मेसिन सेट गरिएको मोबाइलबाट मिसकल आउँछ ।

जसका कारण मेसिन आफैँ अन भएर गीत गाउने, कराउने गर्न थाल्छ । पालैपालो अनेक आवाजसहितको गीत र स्वर सुनेपछि नजिक आएको हात्ती लगायतका जङ्गली जनावर बस्ती नपसी जङ्गल नै फर्कने गर्छन् । सोलार, ब्याट्री, बाकस, पुत्ला र भित्री पार्टपुर्जा सबै गरेर ३५ हजार जति खर्चमा एउटा मेसिन तयार हुने आविष्कार केन्द्रले जनाएको छ ।

किसान र मानिसको साथीका रूपमा बनाउन खोजिएको मेसिनको टुप्पोमा मानिसकै आकारको सेतो पुत्ला रहन्छ । त्यसलाई जिउँदो बनाउने काम सोलार र ब्याट्रीले गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!