
काठमाडौं, १९ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन तोकिएकै मितिमा हुने हुनाले कसैको भ्रममा नपर्न आग्रह गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को भेलालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन नेपाली जनता र देशको आवश्यकता भएकाले तोकिएकै मितिमा निर्वाचन हुने प्रष्ट पारे ।
“देशलाई अलमलमा राख्न सकिँदैन, त्यसैले निर्वाचन तोकिएकै मितिमा हुन्छ,” उनले बताए ।
सरकारको राम्रो कामलाई छोपछाप पार्ने काम पार्टी भित्रबाटै भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई खुइल्याउने काममा मात्र केही नेताहरु लागेको बताए ।
कतिपय शक्तिहरुले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गरे । प्रतिनिधिसभाको चुनाव नेपाली जनता र देशको आवश्यकता भएकोले चुनाव तोकिएकै समयमा हुने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद् पुनर्स्थापना गर्न नमिल्ने भन्दै विघटित संसद् नबौरिने बताए । देशलाई अलमलमा बस्न नदिन निर्वाचन आवश्यक रहेको उनको भनाइ छ ।
यो देशलाई भत्किन र बिग्रन नदिइने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भने, “नेपाली भूमि नक्सामा छापेजस्तै ससम्मान फिर्ता ल्याउँछौं, बिग्रे भत्केका चिजको निर्माण गर्छौं ।”
“सूर्य चिन्ह पाइँदैन कि कतिपय साथीहरुमा चिन्ता देख्छुँ, हामीले नपाएर कसले पाउँछ ? ” प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले भने, “आउनुस् बैठकमा, तपाईहरुको अपराधलाई हामी क्षमा गर्छौं, अध्यक्ष र वरिष्ठ नेताहरुको पद कायमै राखेका छौं आउनुस् ।”