
इनरुवा, २२ माघ । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुँदै आएको सत्य संसार साप्ताहिक पत्रिकाले आफ्नो चौथो वार्षिक उत्सव सम्पन्न गरेको छ । सो अवसरमा पत्रिकाले सुनसरीभित्रका विभिन्न क्षेत्रका पाँचजना जनप्रतिनिधिलाई सम्मानसमेत गरेको छ ।
सम्मानित हुने जनप्रतिनिधिहरुमा इनरुवा नगरपालिका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोसी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव छन् । उनीहरुलाई पत्रिकाले विभिन्न क्षेत्रमा काम गरेवापत सो कार्यक्रममा सम्मान गरेको हो ।
सम्मानित सबैलाई दोसल्ला र सम्मानपत्रबाट कार्यक्रमका विशिष्ठ अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सम्मान गरे । त्यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरुलाई समेत सम्मान गरेको कानुनी सल्लाहकार सुकदेव चौधरीले जानकारी दिए । उता सत्य संसार साप्ताहिकको चौथौ वार्षिक उत्सव कार्यक्रम तथा सत्य संसार साप्ताहिकको कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
सत्य संसार साप्ताहिकको आफ्नै कार्यालयसमेत बिहीबार उद्घाटन गरिएको छ । चौथो वाषिर्कोत्सवको अवसरमा सत्य संसार साप्ताहिकको कार्यालयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले उद्घाटन गरेका थिए । सत्य संसार साप्ताहिकले देशको समग्र, सुशासन, पारदर्शिता, विधिको शासन, जवाफदेहीता, जनसहभागिताको क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आएको भन्दै अथितिहरुले प्रसंसा गरेका थिए ।
सत्य संसार साप्ताहिक पत्रिकाले संचार माध्यमबाट नागरिकको सूचनाको हक सुसूचित हुने कुराको वकालत गर्दै आवाज विहीनहरुको आवाज बनेर २०७४ सालमा स्थापना भई चार वर्ष देखि काम गर्दै आएको छ । कार्यक्रममा साहित्यकार, नागरिक समाजका अगुवालगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।