काठमाडौँ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गौरवपूर्ण इतिहास रच्न योगदान गरेका महान् पुर्खा र पूर्वजको सम्मान गर्नुपर्ने बताएका छन् । नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम वृहत् सेमिनारको आइतबार जङ्गी अड्डामा समापन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले पुर्खाको बलिदान र इतिहासलाई ताजा राख्दै गढी, किल्ला र मार्गको संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न एकीकरण मार्ग कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थका लागि हुने एकीकरणले देश भक्ति र गम्भीरताको अभाव हुने उल्लेख गर्दै एकीकरणका लागि राष्ट्र निर्माणको इतिहास र पुर्खाको बलिदानलाई स्मरण गर्नुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले कुनै पनि कुरालाई विधि, प्रणाली, प्रक्रिया र संविधानसम्मत ढङ्गले न्यायोचित हकहित सबैले पाउनु पर्ने उल्लेख गरे । स्वार्थलाई बलको आधारमा फैसला गर्न खोजियो भने हिंसा पैदा हुने भन्दै प्रधानमन्त्री ओलीले स्वार्थलाई हितको रुपमा बुझेर विधिसम्मत ढङ्गले प्राप्त गर्न खिजियो भने मात्र पूर्ण शान्ति प्राप्त हुने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल पुराण र शास्त्रमा समेत वर्णित मुलुक भएको स्मरण गर्नुहुँदै गढी र किल्ला मुलुक जोगाउने महत्त्वपूर्ण स्थल रहेको उल्लेख गरे। ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । प्रधानमन्त्री ओलीले भने, “एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत राज्यलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।”
पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको बताउँदै उनले राष्ट्रनिर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीरपुर्खाको कदर गरिनुपर्छ भने ।
पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “नेपालको एकीकरणको अभियानमा योगदान पुर्याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस् ।”




