चौतारा, २७ माघ । मितेरी पुलको मर्मतका लागि बन्द गरिएको तातोपानी नाका तीन सातापछि खुलेको छ । नाका खुलेसँगै मंगलबार ६ कन्टेनर चिनियाँ सामाग्री नेपाल भित्रिएका छन् ।
कोरोना संक्रमण सन्त्रास, नाका प्रति स्थानीयको फरक बुझाईलगायतका कारण पटक पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतको लागि बन्द रहेको २१ दिनपछि मंगलबारबाट पुनः सुचारू भएको हो ।
चिनियाँ पक्षले नेपाल चीन सीमा मितेरी पुल मर्मतमा लागि २० दिनका लागि बन्द गरेको थियो । नाकाबाट मंगलबार छ कन्टेनर सामान नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा नेपाल चीनबीचको मुख्य नाका तातोपानी भन्सार कार्यालयले चालीस करोड राजस्व संकलन गरेको छ । पाैने तीन अर्व राजस्व संकलनको लक्ष्य राखेको भन्सारले नियमित सामान आयातमा भएका समस्याकै कारण लक्ष्य अनुरुप राजस्व संकलन हुन नसकेको जनाएको छ ।
भन्सारले कृषिजन्य र अन्य व्यापारिक सामाग्री आयात हुँदै आएको नाकाबाट थप पाँच करोड राजस्व संकलन गरेको जनाएको छ । ‘आज छ कन्टेनर सामान भित्रिएको छ’– भन्सार प्रमुख लालबहादुर खत्रीले भने ।




