२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

रौतहट, ३० माघ । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण रौतहटमा विभिन्न किसिमका घरेलु प्रविधि लोप हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेसिन तथा फलामका औजार हराउँदै गएका हुन् । करिब दुई दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि यहाँ यी घरेलु मेसिन विस्थापनमा परेका छन् । परापूर्वकालका मेसिन तथा औजारहरू एउटा मात्रै नभएर प्रायः सबै विस्थापित भइसकेका छन् । नेपाली समुदायमा यसका उदारहण प्रशस्तै छन् ।

तुलो – विशेषतः जिल्लाको ग्रामीण भेगमा मासु जोख्नका लागि प्रयोग गरिने सामग्री हो । यो तुलो आजभोलि हराउँदै गएको छ । मासु तथा जोख्नयोग्य सामग्री तुलोबाट जोख्दा धार्नी, बिसौली, आठपोल आदिमा जोखेर हिसाब निकाल्ने गरिन्थ्यो । तर, आजभोलि आधुनिक सामग्रीका कारण यसको प्रयोग हुन छाडेको छ । तुलो प्रयोग त हुँदैन नै तर देख्न समेत पाइँदैन । तुलोजस्तै अर्को सामग्री झुलो चकमक पनि हो । यसको प्रयोग पहिला पहिला धेरै हुने गरेको थियो तर, आजभोलि देख्न समेत छाडेको छ ।
यो आगो निकाल्न (बाल्न) का लागि प्रयोग गरिने सामग्री हो । जसमा, दर्सिङ ढुंगा, फलामको टुक्रा, र केराको झुस प्रयोग गरिन्छ । दर्सिङ ढुंगा र फलामको टुक्रालाई घर्षण गराएर केराको झुस तथा नेपाली कागजमा आगो बालिन्छ । अहिले यो पनि हराउँदै गएको छ । आधुनिक सामग्रीहरू सलाई, लाइटर, ग्यास लगायतका सामग्रीले गर्दा यसको प्रयोग हुन छाडेको हो ।

डेली – डेलीलाई गोठको दराज भन्दा पनि फरक पर्दैन । डेली भन्नाले बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो भन्ने बुझिन्छ । डेली बाँसबाट बनेको हुन्छ । पशु चौपायालाई खुवाउनको लागि खेतबारीबाट घास लान डेलीको प्रयोग गरिन्थ्यो । डेलीमा नै घाँस राखेर टाउकोमाथि बोकेर घरसम्म ल्याउने गरिन्थ्यो । तर, आधुनिकतासँगै डेली पनि आजभोलि लोप भएको छ ।

धिरी एक प्रकारको पानी बोक्ने बाँसको भाँडो हो । परापूर्वकालमा पानी बोक्नका लागि यसलाई प्रयोग गरिन्थ्यो । कुनै एउटा ठूलो बाँसका आँखा खोलेर खिपेर बनाएपछि पानी बोक्ने काममा प्रयोग गरिने धिरी वर्तमान पुस्ताले प्रयोग गर्नु त परै जाओस् नाम सुन्दै अनौठो मान्छन् ।

खलाती – यो आरनमा आगो फुक्न हावा दिने छालाको थैलो हो । खलाती विशेष गरी विश्वकर्मा समुदायले फलामका सामग्री पगाल्न तथा काँचो फलामबाट विभिन्न आकृति निर्माण गर्नका लागि आगो फुक्न यसको प्रयोग गर्ने गरेको पाइन्छ । आधुनिक प्रकारका मेसिनको प्रयोगका कारण आजकल यो इतिहास मात्रै बन्न पुगेको छ । यसको संरक्षणमा न त सम्बन्धित समुदायले चासो दिएका छन् न त अन्य सरोकारवाला निकायले नै । आजकल खलातीको सट्टा अन्य आधुनिक मेसिन प्रयोग गर्न थालिएको छ ।
कोल, ढिकी, जाँतो उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्ता सम्ममा उखु, अमिलो र तोरी पेल्न गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर रौतहटको शहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रबाट समेत विस्थापित भइसकेको छ ।

त्यसैगरी धान कुट्न प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन् । पहिला पहिला महिलाहरु ढिकी र जाँतोमा नै लगेर अन्नहरु कुटने र पिस्ने गर्दथे तर अहिले मिल भएको हुनाले मिलमा नै कुटानी पिसानी भइरहेकोले ढिकी र जाँतो लोप हुन थालेको

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!