
बुटवल, १ फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव समूह बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको बताएका छन् । नेकपा प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पार्टीबाट बाहिर गएर शुद्धीकरण हुनाका साथै पार्टी गतिशील भएको दाबी गरे । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले तीन वर्षसम्म काम गर्न नदिएको स्पष्ट पारे । पार्टीमा देश बनाउने उद्देश्यमा सहमत हुन नसक्ने तत्व पार्टी छाडेर सडकमा पुगेको बताउँदै उनले ताजा जनादेशका लागि जनतामा जानु प्रतिमगन हो भने तपाइँले कस्तो व्यवस्था खोजेको हो भनी प्रश्न गरे ।
तीन वर्षदेखि बन्न नसकेका संवैधानिक आयोग दाहाल–नेपाल पक्ष गएपछि बनेको र काम पनि हुन थालेको बताउँदै प्रधानमन्त्री ओलीले देश बनाउने सङ्कल्पका साथ नेकपा एकताबद्ध भएर अघि बढेको विचार व्यक्त गरे । सबैले बुझ्ने गरी पार्टी विरोधी गतिविधि हुँदा नेकपा फुट्छ भन्ने आकलन धेरैले गरेको बताउँदै देशको हित नचाहने बाहिरिएर केही फरक नपर्ने तर्क गरे ।