२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

स्याङ्जा, २ फागुन ।  बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा दुनाटपरी उत्पादन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

वालिङ–८ छेउडाँडामा रहेको ‘छेउडाँडा शिल्पकला समूह’ लाई दुनाटपरी बनाउने तालीम तथा मेशिन हस्तान्तरण गरेकाे बताउँदै उनले भने,  “मेसिनको प्रयोगले छोटो समयमै धेरै दुनाटपरी बनाउन सकिने भएको छ ।”

प्लाष्टिकजन्य वस्तुको प्रयोगका कारण परम्परादेखि चल्दै आएको दुनाटपरी हराउँदै गएकाले यसको प्रयोग र संरक्षणमा जोड दिने गरी दुनाटपरी उद्योग स्थापना गरी व्यावसायिक उत्पादन थालिएको उनले बताए ।

हाम्रो समाजमा विवाह, व्रतबन्ध र पूजाआजामा दुनाटपरीको प्रयोग गर्ने गरिन्थ्यो । पछिल्लो समय यसको प्रयोग हराउँदै गएको छ, यसलाई पुनः प्रयोग गर्न सकेमा जङ्गलमा त्यसै खेर गइरहेका पातबाट लाखौँ आम्दानी गर्न सकिन्छ । स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी सामूहिकरुपमा सीप सिकेर उद्योग स्थापनासँगै दुनाटपरी उत्पादन थालिएको स्थानीय गीता रनपालले बताइन् ।

पछिल्लो समय परम्परागत दुनाटपरीलाई प्लाष्टिकजन्य वस्तुले विस्थापित गर्दै गई्रहेका बेला प्रविधिको प्रयोगका कारण निकै प्रभावकारी देखिएको छ । मेसिनको प्रयोगबाट छोटो समयमा धेरै दुनाटपरी बनाउन सकिने हुँदा यसलाई व्यावसायीकरण गरी यहाँका स्थानीयको जीवनस्तरमाथि उकास्न सकिने स्थानीय रनपालको भनाइ थियो ।

साना साना पात भए सिन्काले जोड्ने र मेसिनमा राखेपछि टपरीको आकार दिने र विभिन्न प्रकारका दुनाटपरी बनाउन सकिने भएकाले समयको वचतसँगै वातावरणीय प्रदूषणलाई समेत कम गर्ने उहाँले बताउनुभयो । यहाँका ३० महिलाले सामूहिकरुपमा दुनाटपरी उत्पादनमा सक्रिय सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!