विराटनगर, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीले फागुन ८ मा विराटनगरमा हुने जनसभामा साढे १२ हजार कार्यकर्ता उतार्ने घोषणा गरेको छ । शनिबार बसेकाे महानगर कमिटीको तेस्रो विस्तारित बैठकले ओली समूहको जनसभामा १२ हजार ५ सय कार्यकर्ता उतार्ने निर्णय गरेको हो ।
ओली समूहले फागुन ८ गते विराटनगरमा जनसभामा गर्ने कार्यक्रम तय गरेकाे छ , जसमा प्रधानमन्त्री ओलीका साथै गृहमन्त्री रामबहादुर थापालगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
सो जनसभालाई लक्षित गरेर ओली समूहले महानगरका ५० हजार घरधुरीमा पुग्ने गरी शाखा कमिटीहरुलाई परिचालन गरिने महानगर कमिटीका अध्यक्ष सागर थापाले जानकारी दिए । उनका अनुसार शनिबारको सो बैठकले आइतबार र सोमबार सवै शाखा कमिटीहरु परिचालन गर्ने निर्णय भएकाे छ ।
बैठकमा केन्द्रीय सदस्यहरु गुरुप्रसाद बराल र विनोद ढकालले जनसभा सफल बनाउन महानगर कमिटीलाई निर्देशन दिएका थिए ।




