विराटनगर, ३ फागुन । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ ।
पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले बहस गरेका छन् । लेखक तथा पुरातात्विक संरक्षण अभियानकर्मी लोकेन्द्रकुमार मल्ल, पण्डित भवानी शङ्कर निरौला, लक्ष्मीनारायण मन्दिर पाञ्चालिका पीठाधीश अच्युत प्रपन्नाचार्य, धार्मिक वक्ता रामानुज नेपाल, वास्तुविद् तथा शहरी योजनाकार पुरुषोत्तम डङ्गोल, शहरी योजनाकार उनम प्रधान, नेकपाका युवा नेता सागर थापा, नेपाली कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने, साहित्यकार तथा समालोचक दधिराज सुवेदी, उद्योगी तथा व्यवसायी सुजन थापालगायतले आआफ्ना सुझाव दिएका थिए ।
महानगरपालिका प्रमुख भीम पराजुलीले विराट राजाको दरबारको संरक्षणसहित विकास गर्ने मुख्य योजनाका रूपमा अगाडि बढेको जानकारी दिए । पुरातात्विक महत्वका वस्तुलाई आधुनिकतासँग जोडेर त्यस क्षेत्रको विकास गर्ने योजना रहेको प्रमुख पराजुलीले उल्लेख गरे ।
आफ्नो कार्यकालमा यो अभियानको शुरुआत गर्ने भन्दै प्रमुख पराजुलीले उत्खननबाट फेला परेका विराट राजासँग सम्बन्धित वस्तुको सङ्ग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानका लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण गर्ने लक्ष्य महानगरले राखेको बताए ।






