विराटनगर, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्न सकिएन भन्नुको कुनै तुक नभएकाे बताएका छन् । सोमबार प्रदेश सरकारले तेस्रो वार्षिक उत्सवका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
उनले प्रदेशको राजधानी सर्वसम्मत रुपमा तोकिएको उल्लेख गर्दै भने, ‘प्रदेशको नामाकरण गर्न सकेन भनेर भन्नुको कुनै तुक छैन । सबै दलको सहमतिमै नामाकरणको विषयलाई तत्कालका लागि थाँती राखिएको हो । विभिन्न समस्याका कारण नामाकरणको विषयमा प्रवेश गर्न पाएन। अब नामाकारणको विषयको टुंगो चाँडै लगाउँछाैँ ।’
यसैगरी उनले प्रदेश सरकारको तीन वर्षको अवधिमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । शून्यबाट सुरु भएको प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेर विभिन्न कामहरु गरिरहेको जानकारी दिँदै उनले भने, ‘सुखी नेपाली, समृद्ध नेपाल नारा दिएर संघीय सरकार अघि बढेजसरी प्रदेश सरकारले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारा तय गर्दै त्यसलाई अघि सारेर काम गरिरहेको छ । प्रदेश सरकार यो नारालाई दीर्घकालीन रुपमा स्थापित गरेर अघि बढ्छ ।’
प्रदेश सरकार मातहतका कार्यालयले राम्रो काम गरिरहेको बताउँदै उनले तीन वर्षको अवधिमा प्रदेश १ सरकारले ११३ वटा विभिन्न कानुन बनाएको, जनतासँग मुख्यमन्त्री कार्यक्रम सुरु गरेको र प्रदेश लगानी प्राधिकरण बनाएको बताए ।






