धनकुटा, ३ फागुन । धनकुटा नगरपालिका क्षेत्रमा ड्रागन फ्रुट्सको खेती विस्तार सुरु भएको छ । दुई वर्षअघि धनकुटा नगरपालिका–८ अन्तर्गत सान्ताङ, टेकुनाला, चुलिबन, याक्तेलगायत क्षेत्रमा समूह गठन गरेर ड्रागनको खेती थालिएको थियो । तर, पछिल्लो समय नगर क्षेत्रका दुई सयभन्दा बढी परिवार यो खेतीमा संलग्न भएका छन् ।
सिँचाइ सुविधा अभाव र प्राकृतिक पानीका मुहान सुक्दै गएपछि अन्नबाली उत्पादनमा समस्या भएपछि पनि यहाँका किसानले ड्रागन फललाई वैकल्पिक खेतीका रुपमा लिएका हुन् । खेतीको सम्भावना पहिल्याउँदै जाँदा यो क्षेत्रमा ड्रागन फल उपयुक्त देखिएकाले पकेट क्षेत्र विकास गर्न कार्यक्रम सुरु गरिएको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए ।
नगरपालिका क्षेत्रका टेकुनाला, चुलिवन, सान्ताङ, याक्तेलगायत क्षेत्रमा ६ वटा समूह निर्माण गरिएको छ । नगरभित्रका विभिन्न वडाका सुक्खाग्रस्त क्षेत्रका स्थानीयको जीवनस्तरमा वृद्धि गर्ने उद्देश्यले माटो परीक्षण गरेर हावापानी सुहाउँदो ड्रागन लगाउन थालिएको छ ।






