
विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले समाजको अग्रगामी परिवर्तनका लागि सञ्चारकर्मीले अदृश्य शक्तिका रुपमा कार्य गरेको बताएका छन् । सोमबार नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुकमा सुशासन, शान्तिसुरक्षा र नैतिकता कायम गर्न सञ्चारकर्मीले ठूलो भूमिका निर्वाह गरेको बताउँदै प्रदेश प्रमुख अधिकारीले जनकेन्द्रित पत्रकारिता आजको आवश्यकता भएको बताए ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । उनले मुलुकको विकास र समृद्धिका लागि जवाफदेही पत्रकारितामा जोड दिन पनि पत्रकारहरुलाई आग्रह गरे ।