विराटनगर, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिका कारण मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
निषेध र विधेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्,’ उनले लेखेका छन् ।
यस्तै उनले प्रजातन्त्र सामाजिक जीवन पद्दति भएको भन्दै हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने बताए । ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो, जनताको आस्था, चाहना र जनभावना अन्तत अमर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न,’ उनले लेखेका छन् ।




