२०७७ फाल्गुन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले सम्भव तुल्याएका थरिथरिका मञ्चको सही र मानवीय उपयोग गर्नुपर्नेमा दुरुपयोग भइरहेका अवस्थामा सञ्चारमाध्यमको अत्यावश्यक मुहान राष्ट्रिय समाचार समितिको औचित्य बढ्दै गएको बताएका छन् । रासस स्थापनाको ५९ औँ वर्ष पूरा गरी ६० वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले नेपाल सरकारका तर्फबाट राससको संस्थागत विकास तथा व्यावसायिकताको प्रवद्र्धनमा उचित सहयोग भइरहेको र भविष्यमा पनि रहने प्रतिबद्धता व्यक्त गरे ।

“सञ्चार प्रविधि क्षेत्रमा तीव्र्र विकास भएसँगै नेपालको सञ्चार क्षेत्रमा पनि अभूतपूर्व विविधता देखा परेको यहाँहरु सबैलाई विदितै छ । सञ्चारको क्षितिज फराकिलो हुनाको साथसाथै विकृतिहरु पनि भित्रिएका छन् र यसले गर्दा हाम्रा सामु नयाँ नयाँ चुनौतिहरु उपस्थित भएका छन् । प्रविधिको विकासले सम्भव तुल्याएका थरीथरीका प्लेटफर्महरुको सही र मानवीय उपयोग गर्नुपर्नेमा प्रयोगकर्ताहरुबाट यसको दुरुपयोग भइरहेको तीतो सत्य पनि हामी भोगिरहेका छौंँ”, सन्देशमा भनिएको छ ।

जनताको अनवरत सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको प्राप्तिलाई संस्थागत गर्दै सरकारले मुलुकलाई विकास र समृद्धिको बाटामा आफूलाई अग्रसर गराइरहेको सन्दर्भमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुख नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण र आवश्यक रहेकामा उनले जोड दिए ।

विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न कठिनाइका बाबजुद राष्ट्रको समृद्धिको अभियानलाई अघि बढाइरहेको तथो आर्थिक –सामाजिक विकासलगायत अनेकौँ क्षेत्रमा सकारात्मक सुधारका सूचक हासिल भएको जनाउँदै प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउँदै छिमेक र अन्तरराष्ट्रिय सम्बन्धमा सुधारसहित विकास र सुशासन क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएकोे, कोभिडविरुद्ध खोपको विकाससँगै नागरिकको स्वास्थ्य सुरक्षाका लागि नेपालले पनि खोप कार्यक्रम अघि सारेको तथा मुलुकले आर्थिक र सामाजिक गतिविधिमा आफूलाई पुनः क्रियाशील बनाउन थालेको बताए ।

“स्थिर सरकारमार्फत मुलुकको समृद्धि र जनताको सुखका लागि विकासका काम चौतर्फी रुपमा अघि बढिरहेका बेला त्यसमाथि व्यवधान पैदा गर्ने दुष्प्रयासहरु यसबीच नभएका होइनन् । भर्खरै बसेको विकासको जगलाई भत्काएर मुलुकलाई अस्थिरतामा लैजाने त्यस्तो दुष्प्रयासलाई अब सार्वभौमसत्ता सम्पन्न जनताको निर्णयद्वारा नै निस्तेज पारिनुपर्दछ”, सन्देशमा भनिएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा सरकार र सम्बद्ध निकाय जुटेका स्थितिमा सञ्चारमाध्यमले आफ्नो स्वतन्त्र र निष्पक्ष भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!