काठमाडौँ, ९ फागुन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले सबै कमिटीमा साइबर सेना गठन गर्ने भएकाे छ । मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना बनाउन थालिएको सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले बताए ।
यसअघि तत्कालीन नेकपा (एमाले)को युवा सङ्घले युथ फोर्स गठन गरेको थियो । यस्तै संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने उनले बताए ।
उनले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत जानकारी दिए ।
बैठकले सरकारले गरेको लोकप्रिय काम र असाधारण उपलब्धिलाई जनताबीचमा पुर्याउन सङ्घका नेता कार्यकतालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णय गरेको छ । बैठकले विदेशबाट स्वदेश फर्किएका र स्वदेशमा रहेका युवा जनशक्ति राज्यको नीति तथा कार्यक्रममा पूर्णरूपमा जोडिन नसकेको भन्दै संविधानमा उल्लेख गरिएको युवा हक अधिकार र सरकारद्वारा घोषित युवामैत्री नीति कार्यक्रमलाई पूर्णतः युवाले सदुपयोग गर्न वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।
बैठकले सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा क्रियाशील हुन सबै कमिटीलाई निर्देशन दिएको अध्यक्ष सिंहले जानकारी दिए ।




