विराटनगर, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा पेश भएको छ । अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गरे ।
पुस १२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्ताव लामो समयसम्म सदनमा पेश भएको थिएन । अविश्वासको प्रस्ताव भएपछि आगामी फागुन २० गतेसम्मका लागि बैठक स्थगित भएको छ ।
आजको बैठकमा सरकारका मन्त्रीहरू र सरकार पक्षीय साँसदहरू सहभागी भएनन् । मन्त्री नभए पनि बैठक अघि बढेको थियो । प्रतिपक्ष दलहरू भने बैठकमा उपस्थित थिए । यसैबीच अहिलेको अवस्थामा सदन चल्न नसक्ने भन्दै प्रमुख नेकपाका प्रमुख सचेतक बुद्दीकुमार राजभण्डारीले सचिवालयमा लिखित पत्र बुझाएका छन् । उक्त पत्रमा सदन ७ दिन स्थगित गर्न माग गरिएको थियो । तर त्यसलाई सभामुखले स्वीकार गरेनन् ।




