२०८३ बैशाख ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, १७ फागुन । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।

यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा रु ६०० करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो । निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, “अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध गराइरहेका छौँ ।”

तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ । अस्पतालमा पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने जनाइएको छ ।

ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् । पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौँ उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ ।

अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्यमात्र करिब एक अर्बभन्दा माथि खर्च भएका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!