२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, २१ ,फागुन । आजदेखि हिरासतमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका नेता छाेडिने भएको छ । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी गरेको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रमार्फत प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार शुक्रबारसम्म उक्त समूहका उपल्ला नेताहरुमा धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।

यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको छ । उनका अनुसार प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न हिजै निर्देशन भइसकेको छ । आज चार जना नेतालगायत छाड्ने तयारी सरकारको छ ।

शुक्रबार दिउँसो २ बजे विशेष कार्यक्रम गरेर सहमति सार्वजनिक गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्नेसमेत सहमति भएको छ ।

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो । सरकारले वार्ता समिति बनाएको एक घण्टामै विप्लवलेसमेत खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजक रहेको वार्ता समिति गठन गरेको थियो । विप्लव समूहको वार्ता समिति सदस्यमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!