२०८३ श्रावण ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

खोटाङ, २४ फागुन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् ।

गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् ।

स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम’ अन्तर्गत मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिम आयोजना गरेको थियो ।

तालिमपछि च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्न थालेका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोका रूपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्बन्धित तालिम दिइएको नगरप्रमुख इवन राईले बताए ।

लघुउद्यमसम्बन्धी आठ दिनको तालिम दिएलगत्तै काठमाडौँबाट तीन दक्ष प्रशिक्षकलाई ल्याएर उनीहरुलाई खोसेलाको सामग्री उत्पादनसम्बन्धी तालिम दिइएको नगरपालिकाले जनाएको छ । क्रमशः हलेसी, धितुङलगायतका वडामा पनि खोसेलाको सामग्री तयार पार्ने सीप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।

नगरपालिकाका अनुसार तालिममा सहभागीले व्यक्तिगत वा सामूहिकरूपमा मकैको खोसेलाबाट सामग्री उत्पादन गर्ने छन् । मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गरेर व्यवसाय गर्न चाहने महिलालाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

मकैको खोसेलाबाट निर्माण गरिएका सामग्री जिल्लाका विभिन्न बजार तथा छिमेकी देश चीनसम्म निर्यात गर्ने महत्वाकाङ्क्षी लक्ष्य राखिएको छ । मकैको खोसेलाबाट महिलाले उत्पादन गरेका घरेलु सामग्रीको मूल्य निर्धारण तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने जनाइएको छ । आम्दानीको अन्य स्रोत नभएको उक्त क्षेत्रमा यसअघि खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनःसञ्चालनमा ल्याउन नगरपालिकाले कपासखेती प्रवद्र्धनमा रु १० लाख बजेट लगानी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!