देवानगञ्ज, २५ फागुन । सुनसरीको देवानगञ्ज गाउँपालिकाको नयाँ भवनको निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ । केही समयअघि कोरोना भाइरस महामारीका कारण प्रभावित भइ ढिलाइसुस्ती भए पनि कोरोनाबाट जनजीवन सामान्य बन्दै गएपछि रबिना एन्ड अभिषा जेभीले अहिले काम धमाधम गरिरहेको छ ।

देवानगञ्ज वडा नं २ मा ९ करोठ १८ लाख लागतमा बन्दै गरेको सो भवनको काम ५० प्रतिशतभन्दा उकालो लागेको ओभरसियर चन्द्रशेखर सेन्हा बताउँछन् । नौ कठ्ठा क्षेत्रफलमा बन्दै गरेको सो भवनको काम शनिबारका दिनसमेत नरोकिएको उनकाे भनाइ छ ।

मन्त्रिपरिषद्को निर्णयबाट नेपाल सरकारको स्वामित्त्वमा रहेको सो जग्गामा गाउँपालिकालाई भवन बनाउन स्वीकृति दिइएको थियो । मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन ढिला भएका कारण भवन निर्माण कार्यमा पनि ढिलाइ भएको थियो । स्वीकृतिपछि निर्माणका लागि सम्झौता पाएको अभिषा जेभीले अब आगामी वर्षको दशैँसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
गत वर्षको फागुनबाट निर्माण कार्य सुरु भए पनि कोरोना संक्रमणको जोखिमका कारण चार महिना काम स्थगित गर्नुपरेको थियो । सिन्हाका अनुसार चार महिना कोरोनाकै कारण काम स्थगन गर्नुपरेको थियो भने साउन महिनामा वर्षाका कारण काम हुन पाएको थिएन ।

गाउँपालिका र रबिना एन्ड अभिषा जेभीबीच ६ करोड ९२ लाखमा गाउँपालिकाको भवन बनाउन सम्झौता भएको हो । दुई वर्षमा निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गरिने बताउँदै सो कम्पनीले काम थालेको थियो । तर, महामारी र वर्षाका कारण काममा प्रभाव परेपछि अब कात्तिकसम्ममा भवन हन्तान्तरण गर्ने योजनाका साथ धमाधम काम गरिरहेकाे सेन्हा बताउँछन् ।
यता, प्रमुख लालीप्रसाद मेहता पनि गाउँपालिकाको नयाँ भवनको निर्माणकार्य द्रुत गतिमा चलिरहेको बताउँछन् । हाल गाउँपालिका भाडाको भवनमा छ । वडा नम्बर २ मै रहेको सो भवनको भाडा मासिक रूपमा ६५ हजार तिर्नुपर्छ ।

एक बोर्डिङ स्कुललाई गाउँपालिकाको भवनको रुपमा प्रयोग गर्दा असहज भइरहेको मेहता बताउँछन् । यसैले चाँडै पुरानो भवनबाट नयाँ भवनमा सर्ने आफूहरूको योजना रहेको प्रमुख मेहताको भनाइ छ ।






