बिर्तामोड, २६ फागुन । झापाको शिवसताक्षी नगरपालिका–११ को कनकाई नहरमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ । बुधबार बिहान नहरमा डुबेर मृत्यु भएको अवस्थामा एकजना महिलाको शव फेला परेको हो ।
वडा नम्बर ८ र ११ को सिमानामा पर्ने कनकाई नहरअन्तर्गत सतासी खोलाको साईफनमा शव अड्किएको अवस्थामा फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । प्रहरीले नहरबाट शव बाहिर निकाल्नका लागि पानी सतासी खोलातर्फ लगाएको छ ।
नहरबाट शव बाहिर निकालेपछि शवको पहिचान हुनसक्ने स्थानीयले बताएका छन् । घटनास्थल देखी उत्तर सो नहरले शिवसताक्षी नगरपालिका वडा नम्बर ९, १० र ११ लाई छुन्छ ।
बाहिरबाट आएर नहरमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले कानुनी घटनाका विषयमा थप अनुसन्धान थालेको हुने इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।






