
सल्यान, २९ चैत । पाखामा लटरम्म फुल्ने लालीगुराँस यस वर्ष नफुलेपछि यसको रसबाट बनाइने जुस उत्पादनमा गिरावट आएको छ । यस वर्ष लालीगुराँस नफुलेपछि उत्पादनमा कमी आएको पहाडी फलफूल संरक्षण तथा प्रशोधन उद्योगका सञ्चालक तेज बहादुर थापाले बताए ।
गत वर्षको स्टक फूलबाट अहिले जुस उत्पादन गरी रहेको तर यो वर्ष वनमा गुराँस नै नफुलेपछि उत्पादनमा कमी आएको उनको भनाई छ । उनले भने, ‘यो वर्ष कच्चा पदार्थ नै उत्पादन भएन । गत वर्षको केही स्टक फूल थियो त्यही स्टक फूलबाट अहिले जुस बनाई रहेका छौँ ।’
विगतका वर्षहरूमा जुस उत्पादनबाट राम्रो आम्दानी भए पनि यो वर्ष भने उत्पादन नहुँदा आम्दानीमा भारी गिरावट आएको उनले बताए ।
कपुरकोट गाउँपालिका–३ कपुरकोटमा उद्योग सञ्चालन गर्दै आइरहेका युवाले वनमा फुल्ने लालीगुराँसबाट जुस उत्पादन गरी मनग्य आम्दानी गर्दै आइरहेका छन् । प्रत्येक बर्ष गुराँस फुलेको समयमा जुस उत्पादन गरेर एक बोतलको १ सय ४० रुपैयाँका दरले बेच्ने गरेका छन् ।
विश्वभर फैलिएको कोरोनाका कारण प्रभाव परे पनि गत वर्ष झन्डै ५ लाख आम्दानी भएको बताउँदै उनले यस वर्ष एक लाख पनि आम्दानी हुने नहुनेमा ढुक्क नभएको बताए । विगतका वर्षहरूमा लालीगुराँस फुल किसानहरूले बनबाट टिपेर बजारमा ३० रुपैयाँ केजीमा बिक्री गर्ने गर्दथे । जसले गर्दा अन्य युवायुवतीहरूले रोजगारी समेत पाएका थिए ।
आउँ, पखाला, कब्जियत, रक्तचाप जस्ता अन्य रोगहरूका लागि लालीगुराँसको फूल निकै प्रभावकारी भएको सञ्चालक थापाको भनाई छ । गुराँससँगै अमलाको पनि जुस उत्पादन गर्दै आइरहेको उनको भनाई छ । पाँच सय मिल लिटरको बोतललाई १ सय ४० रुपैयाँसम्म बिक्री गर्ने गरेको थापाको भनाई छ ।
गुराँस २४ सय मिटरदेखि ३८ सय मिटरको उचाइमा फुल्ने आकर्षक फूल हो । बनस्पतिविदहरु लालिगुँरासलाई प्राकृतिक सम्पदा मान्ने गर्दछन् । पछिल्लो समय गुराँसको व्यावसायिक प्रयोग बढेको छ । यसले गर्दा आम्दानीको स्रोत समेत भइरहेको डिभिजन बन कार्यालय सल्यानले जनाएको छ ।
लाली गुराँसले युवाहरूलाई व्यावसायिक रुपमा जुस उत्पादनमा अग्रसर बनाउन पनि सहयोग पुगेको डिभिजन वन प्रमुख रमेश गिरीले बताए । व्यावसायिक रुपमा स्थानीय युवाले उत्पादन गरेको जुस काठमाडौँ, नवलपरासी, नेपालगञ्ज, दाङलगायतका जिल्लाहरूमा जाने गर्दछ ।